Translation (Articles/ Stories/ Books)
उडिरा’छ बतासमा
मान्छेलाई तिमीले मान्छे मान्नु अघिगितकारः बब डिलन
अनुवादः बलराम अधिकारी
उसले कति बाटाहरू हिँड्नु पर्ला ?
बालुवामा सदाका लागि निदाउनु अघि
एउटा सेतो ढुकुरले कति समुद्र पार गर्नु पर्ला?
हो, सदाका लागि प्रतिवन्धित हुनु अघि
तोपगोलाहरू कति पटक हावामा उड्नु पर्छ होला ?
साथी, यसको जवाफ उडिरा’छ बतासमा,
यसको जवाफ उडिरा’छ बतासमा ।
हो, बगेर बिलाउनु अघि समुद्रमा
कतिन्जेल उभिन सक्ला हिमाल ?
हो,स्वतन्त्र भइ उभिनु अघि
कति मानिस रहलान् जीवित?
कहिलेसम्म संवेदनहीन बनिरहला मान्छे ?
कहिलेसम्म ऊ नदेखेको बहाना गरिर’ला ?
साथी, यसको जवाफ उडिरा’छ बतासमा,
यसको जवाफ उडिरा’छ बतासमा ।
मान्छेले आफू माथिको आकाश देख्नु अघि
उसले कतिचोटि माथि हेर्नु पर्ला ?
अरूको क्रन्दन सुन्नु अघि
उससँग कतिवटा कान हुनु पर्ला ?
यति धेरै मानिस मरेका छन् भनि बुझ्नु अघि
हो, कतिपटक उसले मर्नु पर्ला ?
साथी, यसको जवाफ उडिरा’छ बतासमा,
यसको जवाफ उडिरा’छ बतासमा ।
(यस वर्षको साहित्यका लागि नोबेल पुरस्कार विजेता बब डिलनको गित ब्लोइङ् इन द विन्डको नेपाली अनुवाद । डिलनले यो गीत सन् १९६२ मा लेखेका थिए । )
(This translated poem was published on 13 Kartik 2063 issue of Naya Patrika National Daily)
पठन प्रवर्धनमा अनुवादको आवश्यकता र यसको भूमिका
अनुवाद के हो ? यस एकल प्रश्नको उत्तरहरू बहुल छन् । सम्भावित अनेकौं उत्तरमध्ये म एउटालाई समाउँछु र भन्छु— अनुवाद पठन र लेखनको संयोजन हो । अर्थात् अनुवाद एउटा भाषा पढ्दै र अर्को भाषामा लेख्दै जाने अन्तरभाषिक कार्य हो । जुन भाषामा पढिन्छ त्यसलाई मूल र जुन भाषामा लेखिन्छ त्यसलाई प्रापक या लक्ष्यभाषा भनिन्छ । यसको अर्थ अनुवाद प्रथमतः पठन नै हो । त्यसपछि मात्र लेखन । त्यो लेखन पनि पठनका लागि नै गरिन्छ । यहाँ म आफ्नो अनुवाद गर्दाको अनुभवलाई नै उदाहरणका रूपमा बताउँछु ।बलराम अधिकारी
कुनै अङ्ग्रेजी कथाको अनुवाद गर्न बस्दा पहिले म त्यो कथा पढ्छु । त्यसपछि उक्त कथालाई नेपालीमा पुनर्लेखन गर्छु । आफूले एउटा भाषामा पढिसकेपछि फेरि किन त्यसलाई नेपालीमा लेख्नु प¥यो त ? म नेपाली–अङ्ग्रेजी द्वैभाषी पाठक हुँ । अतः मूल भाषा अङ्ग्रेजीमा पढसकेपछि त मेरो पठन ध्येय पूरा हुनुपर्ने हो । तर अनुवादक एकल भाषाको पठनमा मात्र सन्तुष्ट हुँदैन । ऊ आफ्नो पठनको रोजाइमा परेका रचनाहरूलाई अर्को भाषामा पुनर्लेखन गरेर फैलाउन चाहन्छ । उक्त रचनालाई आफ्ना भाषाका अन्य पाठकसम्म पु¥याउन चाहन्छ । त्यति मात्र होइन ऊ आफँै पनि एउटा भाषामा पढेका रचनाहरू अर्को (आफ्नो) भाषामा पढ्दाको भिन्न अनुभूतिमा रमाउँछ । एउटा भिन्न भौगोलिक र सांस्कृतिक परिवेशलाई अर्को भिन्न भाषाले जोडदा, भिन्न परिवेशका पात्रहरूलाई अर्को भाषा बोल्न लगाउँदा उदेकलाग्दो मिश्रणको सृजना हुन्छ । यस्तो मिश्रित सृजनाको पठनको अनुभव मौलिक सृजनाको पठनको भन्दा निकै भिन्न हुन्छ । जब मलाई पठनको रोमान्चकताले खिच्दछ तब म अनुवादमा लाग्छु । फरक पठनको आस्वादनले नखिचेसम्म अनुवाद गरिँदैँन । पुस्तक पठनको मोहमा परेर नै म अनुवादमा लागेको हुँ ।
अनुवादले पठनको क्षेत्र विस्तार गर्दछ । अनुवाद नहुँदा पठनको दायरा कसरी खुम्चिन्छ भन्ने बुझ्न मैले यहाँ अनुवादक इडिथ ग्रोसम्यानको विचारको सहारा लिएको छु ।
हाल संसारभर सरदर छ हजार जीवित भाषा छन् । यीमध्ये झन्डै एक हजार भाषाका लेखन व्यवस्था छन् । कुनै पनि व्यक्ति यस्तो बहुभाषी छैन जसले यी सबै भाषाका साहित्य पढ्न सकोस् । कुनै प्रतिभाशाली भाषावैज्ञानिकले पनि यी हजारवटै भाषामा लेखिएका साहित्यिक पुस्तकहरू पढ्न सक्दैन । राम्रोसँग दशवटा मात्र भाषा पढ्न सक्ने केही छन् भने पनि तिनको बहुभाषिक क्षमता देखेर जो कोही पनि उदेक हुन्छ । हो यहाँनेर छ अनुवादको महत्त्व । अनुवाद नहुँदो हो त यस्ता विलक्षण बहुभाषी प्रतिभाहरू समेत अन्य ९९० भाषाका साहित्यको पठनबाट बन्चित हुने थिए । प्रतिभाशाली बहुभाषी पाठकको त यस्तो अवस्था हुन्छ भने अनुवाद नहुँदा आम एकलभाषी या द्वैभाषिक पाठकको स्थिति कस्तो होला ? यसको हामी आफैँ कल्पना गर्न सक्छौँ । व्हाइ ट्रान्सलेशन म्याटर्सकी लेखिका एडिथ ग्रोसमन (इ. २०१०)
अनुवादबिना फरक भाषाका लेखक र पाठकबीचको पुस्तककीय सम्पर्क र संवाद असम्भव हुन्छ । प्रत्येक लेखक आआफ्नै भाषिक सेलमा रहेर लेखिरहेको हुन्छ । अधिकांश पाठकहरू पनि लेखक झैँ आआफ्नै भाषिक सेलमा रहन्छन् र आफ्नो सेलमा जेजति साहित्य उपलब्ध हुन्छ त्यही नै पढ्छन् । एकलभाषी पाठक अर्को भाषाको सेलमा आफैँ प्रवेश गर्न सक्दैन । कमै मात्र पाठकहरू छन् जो एकभन्दा बढी भाषिक सेलहरूमा आइजाइ गर्न सक्छन् । अन्यका लागि भाषाको अदृष्य पर्खाल अभेद्य फलामेद्वार झैं उभिएको हुन्छ । यस अभेद्य द्वारको साँचो केही द्वैभाषिक पाठक र अनुवादकहरूसँग मात्र हुन्छ जो चाहेका बेला फरक भाषाको सेलभित्र पस्छन्, आफूले चाहेको लेखकका कृति पढ्छन, बाहिर आउँछन् । सामान्य द्वैभाषिक पाठक आफू मात्र पढ्छ । उसले अर्को भाषामा जे पढ्दछ त्यो प्रायशः उसमा नै सीमित हुन्छ । तर अनुवादक भने विशिष्ट द्वैभाषिक लेखक हो । ऊ आफूले पढेका फरक साहित्य अरुका निम्ति उनीहरूकै भाषामा उपलब्ध गराउँछ । उसले अर्को भाषाको कृति अनुवाद गरी आफ्नो भाषाका पाठकलाई दिन्छ । उसको अनुवादका सहाराले पाठक भिन्नभाषी लेखकसम्म पुग्छन्, तिनका भिन्न लेखनसँग परिचित हुने मौका पाउँछन् ।
जिज्ञासु पाठक सधैँ भिन्नताको खोजीमा रहन्छ । विषयवस्तु, परिवेश र लेखन शैलीमा भिन्नता खोज्ने पाठक अनूदित साहित्यबाट मात्र सन्तुष्ट हुन सक्छ । आफ्नो भाषाको साहित्य जतिसुकै उर्वर भए तापनि पाठकले एउटै भाषाको साहित्यमा चाहेजस्तो विविधता र नवीनता पाउन सक्दैन । कारण, पाठकका रुचि र अपेक्षा असीमित हुन्छन् तर हरेक भाषाको साहित्यको कुनै न कुनै सीमा हुन्छ विषयवस्तुमा, शैलीमा, परिवेशमा र पात्रमा । अङ्ग्रेजी जस्तो उर्वर साहित्य लेखन भएको भाषामा समेत सबै पाठकले चाहेको सबै स्वादका साहित्य सृजना भएको छैन । त्यसैले त विश्वका सबैजसो साहित्यहरूबाट राम्रा कृतिहरू अंग्रेजीमा दिनहुँ अनुवाद हुने गरेको छ । यसको अर्थ अनुवादले अङ्ग्रेजीभाषी पाठकका लागि विविधतापूर्ण साहित्य उपलब्ध गराइराखेको छ । अनुवाद नहुँदो हो त हरेक भाषाका पाठक आफ्नो भाषामा सृजित साहित्यको एकोहोरो पठनबाट दिक्क हुने थिए । उनीहरूले साहित्यको जुन विविध आस्वादन पाएका छन् त्यसबाट बन्चित हुने थिए ।
अनुवाद नहुँदो हो त भारतीय साहित्यका रविन्द्रनाथ ठाकुर, शरदचन्द्र चटोपाध्याय, प्रेम चन्द्र, सदत हसन मन्टो जस्ता आद्य लेखकका मानक कृतिहरूको पठनबाट नेपालीभाषी पाठकहरू परै रहनु पर्दथ्यो । अनुवाद नभएको भए उता पर रुसी साहित्यका टोस्टोय, चेखव, गोर्की, दोस्तोभोस्कीका सृजनात्मक चेतनाको प्रकाशले नेपाली पाठकको पठन चेतनामा प्रवेश पाउने थिएन । रुसी साहित्यलाई मूल भाषामा नै पढ्न सक्ने कति नेपाली पाठक होलान्? यसको जवाफ— नगन्य । अधिकांशका लागि रुसी साहित्य भन्ने वित्तिकै कि त अङ्ग्रेजीमा भएको अनुवादको याद आउँछ, कि त हिन्दी या नेपाली अनुवादको । यी त केही दृष्टान्त मात्र हुन् ।
विश्व साहित्यको मूल पाठक अनुवादमा नै निर्भर छ । त्यसैले विश्वसाहित्य भनेको के हो भन्ने प्रश्नको एउटा जवाफमा डेमरखले अनूदित साहित्य भनेका छन् । विश्वसाहित्य भनेको विश्व चेतानाको निर्माण र विस्तार पनि हो । यो यस्तो बृहत् चेतना हो जसमा भिन्नताहरू अभिन्न रुपले एकअर्कासँग जोडिएका हुन्छन्, यो यस्तो चेतना जसले विविधतापूर्ण सौन्दर्य (बभकतजभतष्अक या मष्खभचकष्तथ) उपासना गर्दछ, यो यस्तो चेतना हो जसले विविधतालाई समस्याका रूपमा नभई सौन्दर्यका रूपमा स्वीकार्दछ ।
कस्तो अवस्थामा पाठकले अनुवादको खोजी गर्छन् ? आफ्नो भाषाको साहित्यसँग तृप्त पाठक प्रायः फरक भाषाको साहित्यतिर फर्किँदैन । तर निकै कम पाठकले मात्र यस्तो तृप्तिको अनुभव गर्न सक्छन् । वास्तवमा यस्ता पाठक गम्भीर र बृहत् चेतनायुक्त पाठकको कोटीमा पर्दैनन् किनभने कुनै पनि भाषाको साहित्य आफ्ना पाठकलाई तृप्त पार्ने गरी पूर्णताको उचाइमा पुगेको हुँदैन । अपूर्णता र निरन्तरता हरेक साहित्यको जीवन चरित्र नै हो । यसैले साहित्य लेखनलाई गतिशीत बनाइ राख्दछ ।
यहाँनेर म अनुवादविद् इभेन–जोहरलाई सम्झिन्छु । उनले के भनेका छन् भने जब पाठकहरू आफ्नो साहित्यमा नवीनता हराउँदै गएको भान पाउँछन्, जब आफ्ना भाषाका लेखकहरूका लेखन शैली र चिन्तन परम्परा अन्य भाषाका लेखकको भन्दा पछि परेको देख्छन्, तब उनीहरू परभाषी साहित्य पढ्न लालयित हुन्छन् । तर उनीहरूको यो परभाषी साहित्यप्रतिको आशक्ति सहजै पूरा हुन सक्दैन । यसका लागि कि त उनीहरूले आफूले मन पराएका साहित्यको भाषा सिक्नु प¥यो कि त त्यो भाषाको साहित्य कसैले अनुवाद गरेर आफ्नोमा ल्याइदिनु प¥यो । साहित्य पढ्नका लागि नै भाषा सिक्ने भन्ने कुरो अपवादमा मात्र सम्भव छ । छिटो र सहज उपाय भनेको अनुवाद नै हो । यसलाई प्रष्ट्याउन नेपाली अनुवादको पठन इतिहासलाई जोडौँ ।
माध्यमिक कालसम्मको नेपाली साहित्यको लेखन संस्कृत वाङ्मयको प्रारुपबाट नै चलिरहेको थियो । विंसं. १९७०–८० सम्म आइपुग्दा पनि नेपाली साहित्यका पाठकले जेजति पढे ती भक्ति गाथा, श्रृंगारिक भाव , तिलस्मी कथा नै पढे । उता पश्चिमी साहित्यका पाठक भने आधुनिक युगको चेतनामा रमिसकेका थिए । भारतमै पनि वंगला साहित्यले पश्चिमबाट पूर्वतिर हानिएको आधनिुकताको वहावलाई पक्रिसकेको थियो । उता भारतमा शिक्षा प्राप्त गरेका नेपाली भाषी विद्वानहरूलाई पनि यो वहावले छोएको थियो । हिन्दीमा प्रेमचन्द, वंगलामा रविन्द्रनाथ ठाकुर, माइकल मधुसुधन दत्त, बंकिमचन्द्र चटोपाध्याय, शरदचन्द्र चटोपाध्याय जस्ता उर्वर र अग्रगामी चेतना पढेका, शेक्सपियर, वर्डस्वर्थ, किटस्, यीट्स जस्ता अङ्ग्रेजी साहित्यको उर्वर लेखकका सृजनासँग आमनेसामने भएका र हिन्दी अनुवादका माध्यमले केही रुसी, फ्रेन्च, अंग्रेजी साहित्यको प्रयोगधर्मिताको मर्म बुझेका नेपालीभाषी पाठकहरू नेपाली साहित्यको परम्परागत साहित्यबाट विमूख हुनु स्वाभाविक थियो । उनीहरू नेपाली लेखकका साथै आमपाठकलाई विश्वसाहित्यसँग परिचित गराउन चाहन्थे । यसै चाहनालाई कार्यमा बदल्न विस १९९४ मा नेपाल भाषानुवाद परिषद गठन भयो र पछि १९९७ मा २४ पुस्तक परियोजना आयो । पढिआएको साहित्यप्रतिको असन्तुष्टि र फरक शैलीका साहित्यको खोजीका कारण नेपालीभाषी पाठकले शेक्सपियर, रविन्द्रनाथ ठाकुर, प्रेमचन्द, गोर्की, गोगोल, भिक्टर ह्यूगो जस्ता स्रष्टाका कृतिहरू पढने अवसर पाए । यी र पछिका दशकहरूमा विभिन्न भाषाबाट अनूदित पुस्तकहरूले नेपाली पाठकको पठन रुचिमा विस्तार हुन थाल्यो । नेपालीभाषी पाठक पनि विस्तारै विश्वसाहित्यका पाठक बन्न थाले । विश्वविद्यालयका पाठ्यक्रममहरूमा पश्चिमी साहित्य र सिद्धान्तले स्थान पाउन थाल्यो । विश्वविद्यालयका प्राज्ञिक पाठकका लागि अनूदित साहित्य अत्यावश्यक हुन थाल्यो । हाल त्रिभूवन विश्वविद्यालयमा अध्यापन हुँदै आएको पश्चिमी साहित्य र साहित्य सिद्धान्तको पठन पूर्णतः अनुवादमा उभिएको छ ।
अनुवादतिर कस्ता पाठकलाई खिचिन्छन् ? यस प्रश्नको सहज जवाफ हो– पठनमा भिन्नता र विविधता रोज्ने–खोज्ने पाठक परभाषी साहित्यतिर खिचिन्छन् । मौलिक भाषामा सिधै पढ्न सक्नेका लागि अनुवादको खाँचो पर्दैन । जस्तो हिन्दी, अङ्ग्रेजी, मैथिली, नेपालभाषा बुझ्ने कोही नेपालीभाषी पाठक छ भने उसका लागि अनुवाद भन्दा यी भाषाका मौलिक कृतिहरू नै सहज र स्वाभाविक हुन्छ । तर जो मूल भाषामा पढ्न सक्दैन उसका लागि परभाषी साहित्यको भिन्नताको आस्वादन गर्न अनुवादभन्दा अन्य कुनै माध्यम छैन । अनुवादले पाठकलाई भिन्नता र विविधताको चेत दिन्छ । वास्तवमा भिन्नताको चेतबाट मात्र ज्ञान सम्भव छ । एकैनासको साहित्यको पठनबाट न भिन्न दृष्टि खुल्छ न यस्तो साहित्यको पठन रोमान्चाकारी नै हुन्छ । अनुवादले पाठकलाई भिन्नताको स्वाद दिन्छ र उसको पठन यात्रालाई रोमान्चकारी बनाउँछ ।
अनुवादको पठनले पाठकलाई बहुल सृजनात्मक चेतनामा प्रवेश गराउँछ । आफ्नो भाषाको साहित्य मात्र पढ्ने एकलभाषी पाठकले अन्य साहित्यहरूबाट प्राप्त हुने विविधतापूर्ण सृजनात्मक चेतना प्राप्त गर्न सक्दैन । अनुवादको पठनले पाठकको चेतनालाई बहुआयामिक बनाउँछ । पाठकले यस्तो बहुआयामिकता विषयवस्तुमा, लेखनशैलीमा, संस्कृतिमा भेट्याउँछ । यहाँ कुनै अनुवाद अनुरागी एकलभाषी नेपाली पाठकको परिकल्पना गरौँ । मानौँ उसले नेपालीमा अनूदित निम्न कृतिहरू पढेको छ— अङ्ग्रेजी साहित्यकोे ह्यामलेट, रुसी साहित्यको चेरिका बगैँचा, जर्मनी साहित्यको सिद्धार्थ, जापानी साहित्यको हिमदेश, र नर्वेजियन साहित्यको पुतलीको घर । यी सबै अनूदित कृतिहरू नेपाली पुस्तक बजारमा उपलव्ध छन् । यद्यपि गुणस्तरका दृष्टिबाट भने कुनै असल छन् त कुनै कमसल । यी कृतिहरूको पठनलाई केवल संङ्ख्याका दृष्टिले मात्र हेर्नु हुँदैन किनभने यी कृतिहरू जसको पठन संख्यासँग भन्दा पनि यिनले बोकेको चेतनाको उचाइ, मानव संवेदनाको गहिराइ र प्रस्तुतिको उच्च कलात्मक शैलीसँग जोडिएको हुन्छ । यी कृतिहरू कसैले पढेको छ भने उसले विश्वसाहित्यका केही मानक निर्धारक कृतिहरूलाई आफूमा समाहित गरेको छ भनी बुझ्दा हुन्छ । ह्यामलेट पढ्नेले विश्वसाहित्यको एक उच्चतम वियोगान्त नाटकसँग आफूलाई साक्षात्कार गरायो, मूल पात्र ह्यामलेटको जीवन–दोधारे दर्शन हुनु या नहुनु, रहनु या नहनुलाई नजिकैबाट नियाल्यो । हेन्रिक इब्सनको डल्ज् हाउस पढ्नु भनेको पितृसतात्मक समाजको एउटा अँध्यारो पाटोभित्र रहेको नारी विद्रोहको भर्भराउँदो फिलिङ्गोलाई आफ्नो चेतनाको अंश बनाउनु हो । यस्ता पाठक लेखनमा आए भने तिनले आफ्नो साहित्यमा पनि नवमार्ग कोर्न सक्छन् ।
अनूदित साहित्य पढ्ने पाठकको चेतनाको तह एकलभाषी साहित्य मात्र पढ्नेको भन्दा निकै उँचो र फराकिलो हुन्छ । यो मेरो मान्यता हो । मेरो आफ्नै वैयक्तिक अनुभव पनि हो र मैले भेटेका केही पाठक यसका दृष्टान्त हुन् । अनुवादको पाठकले भिन्न परिवेशमा सृजित पाठ्यभूमिको यात्रा गर्दछ । यस्तो पाठकले आफ्नो भाषिक एवम् सांस्कृतिक परिवेश भन्दा परको वैचारिक, सांस्कृतिक र सृजनात्मक उर्जालाई समेत आफूमा समाहित गर्ने अवसर पाउँछ । यस्ता पाठक भिन्नता र बहुलताप्रति सधैँ सचेत र उदार हुन्छन् । यस्ता पाठक प्रयोगधर्मी लेखनलाई सहजै स्वीकार गर्दछन् । यस्ता सचेत पाठकले आफ्ना भाषाका लेखकहरूलाई पनि मार्गनिर्र्देशन गर्न सक्छन् । यस्ता पाठकले आफ्ना भाषाका लेखकको सृजनात्मक आलोचना गर्नुका साथै उनीहरूलाई मार्गनिर्देशन पनि गर्न सक्छन् । यस्ता पाठकको संख्या जति बढ्दै जान्छ मौलिक साहित्य लेखनको क्षेत्र पनि त्यति फराकिलो हुँदै जान्छ । तर म वर्तमान नेपाली पुस्तक बजारमा यस्ता बहुल चेतना र प्रयोगधर्मी साहित्यका पाठक कम देख्छु । वर्तमान नेपाली साहित्य लेखनमा जुन स्थिरता आएको छ त्यसको एक कारण विश्व साहित्यका मानक निर्धारक कृतिहरू पाठककोमा नपुग्नु हो भन्ने मेरो पाठकीय अनुमान रहेको छ । कोलम्बियाबाट मार्केजको हन्ड्रेज इअर्ज अव सोलिच्यूट, अमेरीकाबाट हार्पर लिको टु किल अ मोकिङ् बर्ड, इटालीबाट पिरान्डेलोको सिक्स क्यारेक्टर्ज् इन सर्च अव एन अथर, जापानबाट कोन्जाबुजे ओएको द सालेन्ट क्राइ, टर्कीबाट पामुकको स्नो जस्ता चेतना विष्फोटक एवम् चित्तभेदक थोरै मात्र कृतिहरू पनि नेपाली भाषामा अनुवाद भएको भए म कल्पना गर्छु आज नेपाली पाठकको ठुलो समूह आलापजन्य र सतही उत्तेजना साहित्यको पठनमा मात्र सीमित हुन्थेनन् होला । न त उनीहरू दलगत नाराका पुस्तकहरूलाई यति महत्वका साथ पढ्थे होलान् । लेख्नेले पनि प्रकाशकको इसारालाई भन्दा पनि विचारको सौन्दर्यलाई बढी ख्याल दिन्थे होलान् ।
पाठकका लागि अनुवाद भिन्न साहित्यको प्रवेश विन्दु हो । कुनै साहित्यको एकाध कृति या फुटकर रचनाको अनुवाद पढेर पाठकले त्यस साहित्यको वृहत् ज्ञान पाउने अपेक्षा गर्न सकिँदैन । सामान्य पाठकका लागि यो आवश्यक पनि छैन । तर एउटै मात्र कृति या फुटकर रचनाको अनुवाद मात्रै पढ्दा पनि पाठकले त्यस साहित्यको सृजनात्मक धड्कनको भेउ पाउँछ । सामान्यतः त्यस्ता रचनाहरूको अनुवाद हुने गर्दछ जसले सम्बन्धित साहित्यमा विशिष्ट पहिचान बनाएको छ । अनुवादका लागि छानिँदा पनि त्यस्तै मानक निर्धारक या बहुपठित सृृजनाहरू रोजाइमा पर्दछन् । यस्ता सृजना अनुवाद भई पाठककोमा पुग्दा त्यसले सम्बन्धित साहित्यको लेखनशिल्प र धारको विशिष्टता पनि बोकेर गएको हुन्छ । यसले पाठकलाई उही लेखकका अन्य कृति र अन्य लेखकका कृतिहरू पढ्न उत्प्रेरित गर्दछ । जब यस्ता अनूदित लेखकहरू पाठकका रोजाइमा पर्छन् अनुवादकलाई अन्य सृजनाहरू पनि अनुवाद गर्न उत्साह मिल्दछ । गुजराती लेखक गिजुभाईका पुस्तहरूको नेपाली अनुवाद यसको एउटा दृष्टान्त हो । दिवास्वप्न नेपालीमा अनुवाद नहुँदासम्म गिजुभाई नेपालीले सुनेपढेका लेखन थिएनन् ।कमसेकम म चाहिँ गिजुभाइका बारेमा जानकार थिइन । शरच्चन्द्र वस्थीले केही वर्षअघि हिन्दीबाट अनुवाद गरेको उनको पुस्तक दिवास्वप्न नेपाली पुस्तक बजारमा पुगेपछि गिजुभाइ एकाएक नेपाली पाठकवीच चर्चाको विषय बन्न पुगे । अनुवाद भएको केही महिनामा नै उनी साहित्य र शिक्षाका नेपाली पाठकका एक रोजा विदेशीभाषी लेखक बने । यस अनूदित पुस्तकको चर्चा हुन थालेपछि पाठकहरू लेखक गिजुभाइका बारेमा जान्न इच्छुक देखिए । कतिले उनका अन्य पुस्तकहरू हिन्दीमा पढे त कतिले उनका बारेमा नेपाली लेख्न थाले । पाठकले अधिक रुचाएपछि उनका अन्य पुस्तकहरूको पनि अनुवाद बजारमा आउन थाल्यो । हालै वस्तीले नै उनको अर्को किताबलाई हामी आमावावु शीर्षकमा अनुवाद गरेका छन् । त्यसैगरि गिजुभाईकै बालकथाहरूको सङ्ग्रह मुनिया रानी पनि उही शीर्षकमा अनुवाद भएको छ । यी दुबै अनूदित पुस्तकले पाठकको राम्रो साथ पाएका छन् । यसको अर्थ एउटै मात्र अनूदित सृजनाले पनि परभाषी साहित्यमा प्रवेश गर्ने महत्त्वपूर्ण द्वार खोलिदिन्छ भन्ने हो । हाल यस्ता फरक विचारोन्मुख पुस्तकहरूको अनुवादको लहर नै आएको छ । तोतोचान, असफल स्कूल , प्रथम गुरु आदि हालै अनुवाद भई बजारमा पुगेका केही पुस्तकहरू हुन् ।
यहाँनेर अनुवाद र पठनको दोहोरो प्रभाव दोहोरै परेको देखिन्छ । लेखकबाट अनुवादक प्रवाहित हुन्छ । त्यसैले ऊ आफूलाई मनपरेका लेखकका कृति अनुवाद गर्छ । उनको अनुवादले पाठकलाई लेखकसँग जोड्छ । राम्रो पुस्तकको राम्रो अनुवाद हुनसक्यो भने अनुवादक र लेखकको प्रभाव पाठकमा पर्दछ । यस्ता पाठकले अनुवादकलाई थप पुस्तकहरू अनुवाद गर्न प्रेरित गर्दछन् । त्यतिमात्र होइन उनीहरू आफैँपनि त्यस्तै पुस्तक लेख्नतर्फ अभिप्रेरित पनि हुन सक्छन् या आफ्ना भाषाका लेखकहरूलाई त्यस्तै पुस्तक लेख्न घचघच्याउन पनि सक्छन् । यो सकारात्मक उर्जा प्रवाहलाई लेखकसम्म पनि पु¥याउन सकिन्छ । अन्य भाषाहरूमा अनुवाद हुन थालेपछि लेखकले पनि अझ फैलिने अवसर पाउँछ । उसमा लेखन कर्ममा उर्जा थपिन थाल्छ । हालै भारतीय लेखक उदयप्रकाश नेपालीमा अनूदित आफ्नो दोस्रो पुस्तक नेल कटरको अनुवाद विमोचन गर्न भारतदेखि नेपाल आए । केही वर्षअघि उनको उपन्यास मोहनदाशलाई यज्ञसले नेपाली पाठककोमा पु¥याएका थिए । उदयप्रकाशको यो लघुउपन्यास नेपाली पाठकको राम्रो रोजाइमा प¥यो । यसले पत्रकार यज्ञशलाई अनुवादकका रूपमा परिचित गरायो । त्यसपछि उनी उदयप्रकाशकै कथाहरूको सङ्ग्रहको अनुवाद लिएर फेरि पाठकसमक्ष आए । अनुवादसँगै जोडिएर लेखक पनि नेपाली पाठककोसँग अन्तरकृया गर्न नेपाल लिटेररी फेस्टिवल, पोखरा आइपुगेका छन् ।
अर्को दृष्टान्त नेपालीमा अनूदित ओर्हान पामूकको अनुवादको । समालोचक उदय अधिकारीले टर्कीका लेखक पामुकको पेरीस रिभ्यूमा प्रकाशित लामो अन्तरवार्तालाई नेपालीमा अनुवाद गरेका छन् । अनूदित अन्तरवार्ता चितवनबाट प्रकाशित श्रष्टामा छापिएको छ । सन् २००६ का नोबेल पुरस्कार विजयी पामूका विचार नेपाली भाषामा भित्रिएको सम्भवतः यो पहिलो चोटि हो । पामूकका कुनै पनि कृति नेपालीमा अनुवाद भएको मलाई थाहा छैन । उता हिन्दीमा भने उनको बहुचर्चित उपन्यास स्नो उही शीर्षकमा अनूदित छ । वर्तमान आख्यान लेखनका एक अग्रणी लेखकका कुनै पनि कृति नेपालीमा नभित्रिएको यस अवस्थामा उदय अधिकारीले अनुवाद गरेको यो अन्तरवार्ता नेपाली पाठकका लागि पामूकका बारेमा बुझ्न एक महत्वपूर्ण स्रोत बन्न सक्छ । यस अनूदित अन्तरवार्ता पढ्ने पाठकले पामूकको लेखनशैली देखि उनका बहुचर्चित आख्यानहरूका बारेमा ससाना झलक पाउन सक्छ । यो यौटै अनुवाद पनि जिज्ञासु पाठकका लागि वर्तमान विश्व साहित्यमा प्रवेश गर्ने एउटा द्वार बन्न सक्छ । अन्तरवार्ताका क्रममा वारम्वार आइरहने स्नो, माइ नेम इज रेड जस्ता उनका प्रयोगधर्मी उपन्यासका बारेमा जान्न पाठक प्ररित हुन्छन् ।
अन्त्यमा म आफ्नै दृष्टान्त राख्दछु ।
मैले नेपालीमा अनूदित रचनाहरूका चरबाट विश्वसाहित्य चियाएको हुँ । अङ्ग्रेजी भाषा छिचोल्न नसक्ने विद्यार्थी उमेरमा मैले पढेका टोस्टोय, चेखव, गोन्जालो, लेलिन, माक्र्स, हेमिङ्वे, कावाबाता सबै अनुवाद नै थिए । अङ्ग्रेजी पठनमा दखल बढ्दै गएपछि अनूदित साहित्यमा मेरो निर्भरता घट्दै गएको हो । तर अनुवाद साहित्यप्रतिको मेरो अनुराग र आकर्षण भने बढ्दो छ । टोल्टोयको आदर्शवादी लेखन केही हिन्दीमा पढेँ त केही नेपालीमा । यसले आदर्शवादी र यथार्थवादी साहित्यमा रुचि बढयो । अचेल प्रायः अङ्ग्रेजीमा पढ्छु । तर यो पनि अनुवाद नै हो । शोलोखोभका कथाहरूको अनुवाद पढेँ, क्रान्तिजन्य साहित्यप्रति रुचि बढ्यो । साहित्यमा लु सुनका विचार पुस्तिका पढेँ । शान्तादाशले २०२२ सालमा अनुवाद गरेको यो पुस्तिकाले यी आधुनिक चिनियाँ साहित्यका पिताका बारेका थप पढ्न प्रेरित प¥यो । पछि उनका एकाङ्की र उनको अनुवाद सिद्धान्त अङ्ग्रेजीमा पढेँ । क्षेत्रप्रताप अधिकारीले अनुवाद गरेको यासुनारी कावाबाताको हिमदेश नपढेको भए म आज जापानी आख्यानका मिसिमा, हारुकी मुराकामी पढिरहेको हुन्थिनँ होला । त्यस्तै, क्षेत्रप्रताप अधिकारीले नै अनुवाद गरेका हाइकु र अभि सुबेदीको अनुवाद आधुनिक जापानी कविता पढ्ने मौका नपाएको भए म जापानी कविका अति कम शब्द र धेरै व्यक्त गर्न सक्ने काव्य शक्तिबाट विमुख हुने थिएँ होला । न त म आज अनुवाद कर्ममा नै यसरी तल्लीन हुन्थेँ होला । वास्तवमा अनुवादकहरूले म पाठकलाई अपरिचित साहित्यको ढोका खोलिदिए भने म लेखकलाई सृजना र अनुसृजना गर्ने चेतना दिए ।
अन्त्यमा विश्वका भाषाहरूमा जेजति साहित्य रचिएका छन् ती सबै पढ्न पाउनु हरेक भाषाका पाठकको अधिकार हो । अनुवादले मात्र यो अधिकारको प्रत्याभूति हामी सबैलाई दिन सक्छ ।
(This is a script of a speech by Bal Ram Adhikari at नेपाल प्रज्ञा प्रतिष्ठान र आँचल साहित्य कला पुञ्ज हेटौँडाको संयुक्त आयोजना, मिति २०७३ माघ २२ गते शनिबार )
भन्छु व्यसन, सुन्छन् व्यवसाय
अनुवाद मैले भनेथँे उनको प्रश्नको जवाफ— के गर्नुहुन्छ तपार्इं ?बलराम अधिकारी
यानि, अनुवाद तपाईंको व्यवसाय तिनले थप जान्न चाहे ।
व्यवसाय होइन व्यसन— मेरो स्पष्टीकरण ।
अर्थात ? ! उनको बढ्दो कन्फ्यूजन
अर्थात, व्यसन । अब्सेशन भन्छ नि । नभइ नहुने । नगरी बस्नै नसक्ने । एडिक्सन भन्दा पनि हुन्छ ।
उनलाई बुझाउने मेरो यत्न ।
उदेकको एडिक्सन भन्ने लाग्यो होला । कुरो मिल्ला जस्तो लागेन होला उनलाई यस्तो एडिक्टसँग । हतारमा हात मिलाए अनि अलपिए कालीमाटीको भिडमा ।
कतिपय परिचितहरु चित खाँदै सोध्छन्— किन गर्नु यस्तो दुःखको काम ?!
दुःख त छ, तर आफैँले इच्छाएको । नेपाली साहित्य पढे–सुनेका लाई कलेज पढ्दा मैले ब्ल्याकेन व्हाइट टिभीमा देखेको सरुभक्ततिर लगेर जोडिदिन्छु— नरोजेको सुख भन्दा रोजेको दुःख राम्रो लाग्छ मलाई । तिनले यस्तै के भनेथे । उनताका देखि मैले यसलाई यति दोहोराइ रहेँ अब त यो मेरै भइसक्यो । तर यसको कपिराइट उनै सरुभक्तसँग छ । अनुभवको कपि राइट भने मेरै हो । नितान्त मौलिक ।
अध्यात्म, मनोविज्ञान पढे–सुनेकालाई भने उता पर रसियातिरको बात गरी हेर्छु । उता छन् गुर्जेफ । दोहो¥याउँछन् ती बारम्बार— इन्टेन्शनल सफरिङ । सोचविचार गरेर रोजे–भोगेको कष्ट । अनुवादमा मेरो कष्ट गुर्जेफको इन्टेन्शनल सफरिङ हो ।
म भन्छु अनुवाद मेरो व्यसन । सुन्नेहरु नसुनिकनै फ्याट्ट भन्छन्— व्यवसाय ? । थप्छन्— भनेपछि आम्दानी त राम्रै होला नि? हुनसक्छ । कहिलेकाहीँ भएको पनि छ । दिनेले दिए भने । इमेलबाट सफ्ट कपि पाएपछि पनि तिनले यो हार्ड वर्कको कर्तालाइ सम्झिए भने । मैले ल्याटपको आरान थापेको किर्तीपुरे कोठामा ती फर्किएर आए भने । तर कहिलेकाहीँ अनुवाद उता जान्छ तर पैसा यता आउँदैन । परिश्रम पराइका लागि श्रम पनि बनेको छ ।
अनुवादको श्रम र पैसा बिच दोहोरो ट्राफिकको कुनै निश्चय हुँदैन । नभए पनि हुनुपर्छ भन्दिन । हुनु पर्ने दोहोरो ट्राफिक अर्कै छ । त्यो चाहिँ हुने गरेको छ । अनुवाद छापिन उता प्रेसतिर जान्छ त्यसको बदला अनुवादकलाई यता आउने भनेको आनन्द हो । अनुवाद सकी पठाएको दिन मन यता हल्किन्छ । अस्पष्ट गज्याङ्मुजुङ हुँदै विस्तारै विस्तारै बुनेको अनुवाद सग्लो आकारमा निस्किएर जान्छ । मेरो ल्यपटपको आरानबाट एउटा सोलिड आकारको पाठ्यवस्तु निस्कन्छ ।
म अक्षरको विश्वकर्मा
ल्यापटम मेरो आरान
अक्षर कुटनु मेरो कर्म ।
अर्को भनेको रातको गहिरो निद्रा हो । अनुवाद गरी सकी पठाएको रात मस्त सुतिन्छ । दोधार र उपयुक्त शब्दको खोजीमा हुने गरेको मानसिक उथलपुथल साम्मिन्छ ।
कोहि सोध्छन्, सोध्नेमा धेरैजसो मेरा विद्यार्थी हुन्छन्— किन गर्नु अनुवाद ? म हाँसी भन्छु— मन परेर । लौ अस्ति एकले त स्पष्टीकरण पो मागी हेरे— किन मन पर्छ ? यो त हद भए न र ? मेरो मौन प्रतिकृया । मन पर्नुको पनि कारण सोध्नेलाई मौनता भन्दा अर्को जवाफ के दिऊँ म ! मन पर्नुको, मन पराउनुको कारण सोध्नु, खोज्नु त प्रेममा तर्क खोज्नु हो । तर्कले प्रेमलाई तर्काउँछ । गीत सङ्गीतमा ज्यादा झुम्ने रहेछन् भने यस्ता प्रश्न गर्नेलाई भारतीय सङ्गीत समुह द दिवारिसमा लगेर जोड्न खोज्छु । यो समूह गल्ली गल्लीमा मदहोस हुँदै गाना–बजाना गर्छ । यस समूहलाई पनि सोध्दा हुन्— किन, के, केका लागि गरेको यस्तो ? अनि जवाफमा भन्छ— समथिङ इज वर्थ डुइङ । केही कर्म यस्ता हुन्छन् जुन हृदयले गर् भन्छ । गरिन्छ । केवल गर । नसोध कारण के? केहीलाई भने म आफ्नै पाराको जवाफ दिन्छु— मन प¥यो त प¥यो । गधि पि दिल आया तो परी क्या चिज है !
पढ्दा जब कुनै कथा मन पर्छ , म त्यसलाई अनुवाद गर्छु । केही मन पर्नु, कोही मन पर्नु भनेको त्यसमा आफ्नो मनको पन देख्नु हो । कसैको जीवन दर्पणमा आफ्नो छायाँ देखेँ भने मलाई त्यो दर्पण मन पर्छ । त्यसले मलाई पनि बोकेझैं लाग्छ । त्यो आफ्नै लाग्छ । तर आफ्नै लाग्नु भनेको आफू र आफ्नो प्रिय निकट हुन मात्र हो । आफू नै त्यो, त्यो नै आफू हुनु भने होइन । केबल त्यसलाई आफ्नो स्वमित्वमा राख्ने इच्छा गर्नु हो । आफू त्यसको मालिक भएको, त्यो आफ्नो अधिनमा रहेको भानमा रम्नु हो । यस्तो प्रिय रोजाइलाई अरुसमक्ष देखाउन मन लाग्छ । आफ्नो प्रियको प्रसंसा आफ्नै झैँ लाग्छ । त्यसैले कतिपयहरु प्रशंसा गर्छन, सुन्छन्, प्रशंसा गरिदियोस भन्ने चाहन्छन्– आफ्ना छोराछोरीको, विद्यार्थीको, घरको, आफ्ना कितावको, आफ्ना सर्टिफिकटको । मेरो पनि यस्तै लोभ जोडिएको छ अनुवादसँग ।
मेरा आखाँले हिँडेका, मनले विचरण गरेका, मस्तिष्कले छिचोलेका आख्यानभूमिका बारेमा मैजस्ता अन्य अक्षरे जीवहरुलाई पनि थाहा लागोेस् । उनीहरु पनि यस भूमिमा एकल यात्रा गरुन् मैलै जस्तै । भेटुन् मेरा प्रिय लेखकका मानस सन्ततिहरुलाई । मै झँै परुन् ती पनि अज्ञात पात्रहरुको प्रेममा । कहिल्यै नभेटेका, कहिल्यै नभेटिने, नदेखेका, नदेखिने आख्यान भूमिका ती पात्रहरुसँगको एकतर्फी प्रेमको रोमान्चकता बोकेर ती पनि हिँडुन् शहरका भिडमा, गाउँका खुल्ला हावामा ।
शब्दमा छरिएका पात्रहरुलाई आफ्नो इच्छा अनुसारको आकृति दिन्छु म पठनबाट । अनि त्यही आकृतिको प्रेममा परेको छु कैयौँ पटक म । यस्तै लहडी प्रेममा परेर केही कथा अनुवाद गरेको छु । अर्नेष्ट हेमिङ्वेको हिल्स लाइक व्हाइट एलिफेन्टकी केटीसँग यस्तै लहडी आशक्ति भयो पहिलो जम्काभेट मै । त्यसलाई भेटेको २०५९ सालमा । म आफैँले कल्पेको त्यसको शरीरको गन्ध र हृदयको कमोलपन बोकी हिँडँे मेरो हृदयमा । कति बार्तलाप गर्नु त्यससँग उसको अङ्ग्रेजी मातृभाषामा मात्रै ! अब यसलाई म मैरै भाषा बोल्न लगाउँछु । अब मेरै भाषामा यससँग कुराकानी गर्छु भन्ने लहड उठ्यो । त्यति लहडमा परेर नेपालीमा यसलाई अनुवाद गरेँ ।
लौ, अनुवाद गरेपछि त त्यससँगको प्रेम हल्किन पो थाल्यो । पहिला जस्तो बारम्वार मनमा आउन छाडी त्यो । या मैले नै छाडिदिए उसलाई । लाग्यो मेरो अनुवादले त्यसको आकार र हृदय दुबैको वारपार भेदन गरेछ क्यार । अनुवादसँगै उससँगको मेरो प्रेम पनि उत्कर्षमा पुगेछ क्यार । पाठक र पात्रबीचको एकतर्फी प्रेमको क्याथर्सिस भएछ । तर नेपाली अनुवाद पढेपछि त्यसलाई हृदयमा बोकी हिँड्ने अरु एक दुई जना भेटेँ । सोचेँ मेरो विमार तिनलाई सरेछ । यसरी आसक्त पार्ने वस्तु, व्यक्तिलाई व्यूटि भन्छ अंग्रेजीले । यस्तो सुन्दरताप्रतिको प्रेम विस्तारै हराएर जान्छ । भोगेपछि, भेदनपछि । भोक्ता र भोग्यवीचको प्रेम आवेशको प्रेम । यस्तो प्रेम सरिरहन्छ । त्यस अमेरीकी पात्रसँगको मेरो प्रेमझैँ ।
कुनै वस्तु, व्यक्ति केवल मन पराइँदैनन् । आफूलाई त्यसैमा विलिन गर्ने उत्तेजना उम्लिन्छ । आफैँ त्यो प्रिय वस्तु बन्ने, व्यक्ति बन्ने उत्तेजनाले छोप्छ । स्वविलयनको उत्कन्ठा उर्लिन्छ । भोक्ता र भोग्य एउटै बन्छ । पोजेसर र पोजेस्ड बीचको दुरी शून्य रहन्छ । प्रेमको यो विराट रुपलाई अङ्ग्रेजीले सब्लाइम भन्छ । सब्लाइममा परेपछि आफ्नो प्रिय वस्तु, प्रिय व्यक्ति हुनुमा नै आफू हुनुको भाव रहन्छ । उसको आफ्नो सार । उसको निस्सार आफ्नो निस्सार । उसको फैलावट आफ्नो फैलावट । यस्तै सब्लाइममा परेर मैले केही कथाहरुको अनुवाद गरेको छु । तिनको अनुवादमा म आफैँ अनूदित भएको छु । तिनको फैलावटसँगै म पनि फैलिएको छु ।
नर्वेजीनय लेखक बिजोर्नस्र्टन बिर्जोसेनको द फादरको त्यो बा पात्र मै हुँ भन्ने स्किजोफ्रेनिया भयो मलाई । त्यो पात्र मेरा बा हुन् । मेरा बाका पनि बा । अनि अनुवाद भयो यो कथा बा शीर्षकमा । तर अनुवाद पछि यो पात्रसँगको मेरो प्रेम हेमिङ्वेको त्यो अमेरीकी केटीसँगजस्तो धुमिलिएर स्मृतिको अमुतए ओडारमा हराएन । यो बुढासँगको प्रेम जीवनप्रतिको मेरो प्रेम जस्तै निरन्तर छ । एन्टोन चेखवको ग्रिफसँग पनि यस्तै प्रेम चलेको छ मेरो । बिनोद विक्रम केशी पनि चेखवसँग यस्तै प्रेममा परेका छन् क्या हो । गत महिनको फोनमा भन्दै थिए— लौन चेखवको कुनै कथा अनुवाद गर्नु प¥यो । त्यसैले चेखवको अनुवाद गरेँ बेदना शीर्षकमा । छापियो ।
केही यस्ता आख्यानभूमि छन् जसको यात्रामा म आफ्नो जीवनको उर्जा सक्न चाहन्छु । जसलाई म पुरै भोग्न चाहन्छु मूल लेखकले भोगेझैँ । पात्रहरुलाई मेरो स्मृतिको गुप्त गृहमा सदा राख्न चाहन्छु । तिनका भाषाबाट म व्यक्त हुन चाहन्छु । मेरो भाषामा तिनलाई व्यक्त गर्न चाहन्छु । त्यसैले कुनै तर्क वितर्कविना नै तिनको अनुवाद गर्ने उत्कन्ठा हुन्छ मलाई ।
यस्ता कथाको अनुवाद गर्दा म आफैँ मूल लेखक हुँ भन्ने मानसिक विमारीमा फस्दछु । मैले लेख्न नजानेको, तर उसले लेखिदियो मै भएर । मै हुँ त्यो लेखक भन्ने भ्रममा म रमाउँछु । भिन्न शरीर लिएर भिन्न समयमा हामी जन्मियौँ भिन्न जग्गामा । तर के भयो त यसमा? आखिर हामी एउटै चेतनाका भिन्न स्वरुप हौँ । एउटै विराट जीवनका अंश । अनि यस्तो लेखक मेरो भाषामा फैलिँदा म आफैँ फैलिएको भान हुन्छ मलाई । मैले लेख्न चाहेको, नजानेको, मेरो सुद्धी नपुगेको, मेरो दृष्टिले नभेटेको उसले उहिल्यै देखेछ, बुझेछ, लेखेछ । म उहिल्यै थिएछु उसको मनोजगतमा । उसको भोगाइमा । उसको कलामा । उसको समयमा । अब ऊ जीवित हुन्छ मेरो पठनमा । लेखनमा । चेतनामा । मेरो भोगाइमा । मेरो समयमा । मेरो भाषामा । कलामा ।
ऊ लेखक । अर्थात् मैले सब्लाइम प्रेम गरेको व्यक्ति । उ र म अर्थात हामी एउटै चेतना वृक्षमा पलाएका पलुवा । समय फरक, वृक्ष एउटै । ऊ पलाएछ भविताको वसन्तमा । बाँचेछ शब्दको वर्षामा रुझ्दै, हेमन्तको उमङ्ग लिएर । अनि झ¥यो होला भविताको शिशिरमा । अनि म पलाएछु अर्को पालुवा त्यति भविताको, विइङको, विराट चेतनाको वृक्षमा नयाँ पालुवा । बढ्दै गएँ । अब म पनि अलिअलि पहेँलिँदै छु । कुन चाहिँ शिशिरमा म पनि झर्ने हुँ । अनि त्यसमा अर्को पालुवा पलाउने छ । उसले मलाइ अनुवाद गर्नेछ । ऊ आफैँ पनि अनूदित हुनेछ मै झैँ । विश्वस्त छु म यसमा । जीवन चेतनाको यो वृक्ष भने उही रहने छ । हामी मात्र यसका पालुवा अनेक । फरक समयका । पठन, लेखन र अनुवादले जोडिएका ।
(This article was published on May 27, 2016 issue of Saptahik)
कविता लेखुँ भन्ने लाग्थ्यो । भन्ने लागेर लेख्ने प्रयत्न गरेँ । तर जे प्रयत्न गरेँ त्यो कविता नभएको आफैँले निष्कर्ष निकालेँ । जे लेखेँ त्यो प्रकाशन गरिनँ । मलाई जग हँसाउनु थिएन । किट्स सम्झी चित्त बुझाएँ— बजेको धुनभन्दा तर नबजेको धुन अझ मीठो हुन्छ । मैले पनि किट्सको साथ लागेर भनेँ— लेखेको कविताभन्दा नलेखेएको कविता अझ सुन्दर हुन्छ ।असल अनुवादको अन्तर्य
बलराम अधिकारी
मेरा मनमा जति पनि कविता बन्छन्, टुट्छन्, फेरि बन्छन् ती सबै लेखिएका सग्ला कविताभन्दा निकै सुन्दर छन् । यही ¥याशनलाइजेशनमा म प्रफुल्ल छु । लेखेर म मेरा अलिखित कविताहरूको सौन्दर्य मार्न चाहन्नँ । अलिखित कवि भएँ मन–मनले लेखिरहने, शब्दमा नव्यक्तिने । अव्यक्त कविताहरू मेरो अर्धचेतन मनमा तहतह बनी बसेका छन् । यस्ता कविताहरू मेरा जागा आँखाले देख्ने कल्पना हुन् । मेरा निद्रित आँखाले देख्ने सपना हुन् । तिनलाई शब्दमा बताउँ भन्ने छटपटी भइरन्छ तर शब्दमा आउँदा ती कविता नभइ अर्थोक नै भइदिन्छन् ।
कविता लेख्न नसकेको छटपटीलाई मैले अनुवादको बाटो पक्रेर समन गरेँ । वास्तवमा म आफैँ कविता लेख्दो हुँ त कविता–अनुवादक बन्थिनँ होला ।
यहाँ प्रसङ्ग हो नवीन प्राचीनले लेखेको उभिएर एक्लैमा म अनुवादक पनि सँगै उभिँदाको । नवीन प्राचीनको यो कवितासंग्रहको अनुवाद पनि कविताप्रतिको मेरो मोह तर लेख्न नसकेको छटपटीको उपज हो । यो वर्ष अनुवाद नगर्ने । मिति २०७३, बैसाख १ गते । आफूलाई अनुवादबाट अलि सतर्क राख्न यस वर्षको पहिलो रात मैले डायरीमा लेखेथेँ । अनुवादले गर्दा मेरो सृजनात्मक रस सुक्दै गएको थियो । अलिअलि भएको काव्यिक कल्पना पनि अरूको सृजनामा विलिन भएको थियो । म सृजनात्मक प्यारासाइट हुँदै थिएँ । ममा सृजनात्मक लेथार्जी बढ्दो थियो । अरूको पाए गर्ने तर आफैँले केही गर्ने जाँगर नचल्ने । म केही समय अनुवाद नगर्ने सोचमा थिएँ । एउटा किताब अनुवाद गरेपछि केही समय मनमा रिक्तताको विरह चल्छ । अक्षर देखेर अमन हुन्छ । अनुवाद सम्झिँदा जाँ पल सात्रको पात्रलाई आफ्नो अस्तित्व देखेर वाकवाकी लागेझैँ हुन्छ । पाँच–छ महिना जति कुनै संसर्ग नगरेपछि भने अनुवादकमा सृजनात्मक उर्जा फेरि बौरिन थाल्छ । त्यसपछि फेरि अनुवाद गरुँगरुँ लाग्छ । तर म भने अनुवाद नगरुँ नगरुँको मुडमा थिएँ ।
नवीन प्राचीनका कविताहरूले मेरो डायरीको निर्णय सतही सावित गरिदिए । म नवीनको कवितासङ्ग्रहको अनुवाद पर, अलि पर, सके त धेरै पर धकल्ने योजनामा थिएँ । यसको उत्तम उपाए सुझाएँ – कवितासँग बात मार्छु, । मन मिले मात्र अनुवाद गर्छु ।
कविले कविता छाडी गए ।
मेरो यो शर्त कुनै बहाना थिएन । यथार्थ थियो । कविता आफैँले अनुवादकलाई आमन्त्रण गरेन भने अनुवाद नै गर्न सकिँदैन । नेपाली शब्दको अङ्ग्रेजी त बन्छ तर अनुवादकसँग खुलेर नबोल्ने नेपाली कविताहरू अङ्ग्रेजीमा पनि राम्ररी बोल्न सक्दैनन् । कवि र अनुवादकले चाहेर मात्र कविताको अनुवाद हुँदैन । कविता आफँैमा अनुवादीय गुण हुनुपर्दछ । कविता आफैँले अनुवादकलाई घचघच्याउनु पर्दछ । नवीन प्राचीनका कविताहरूले मलाई आमन्त्रण गरे । पढ्दै जाँदा मनमनै केही पंक्तिहरूको अनुवाद गरेँ । यी त अङ्ग्रेजीमा पनि झन्डै उही संवेगमा बग्न थाले । अब कविले भन्दा पनि कविता आफैँले अनुवादका लागि आग्रह गर्न थाले । म अव्यक्त कविमा लोभ जाग्यो— नवीन प्राचीनको व्यक्त कवितासँग जोडिएर अनुकवि बन्ने । कविताप्रतिको मेरो प्रेम बढ्यो । यही प्रेमले, आशक्तिले अनुवाद गरायो । अनुवाद गर्दा विविध कठिनाइ त आए तर आशक्तिका अगाडि ती धेरैबेर टिकेनन् । अङ्ग्रेजीमा शब्द खेल्न र संरचनामा ढाल्न मलाई केही सहज भयो । कारण, कतिपय कविताका शब्दचरबाट निस्किएका आवाज मलाई परिचितझैँ लाग्यो । त्यस आवाजलाई अङ्ग्रेजीमा खेलाउँदा खलील जिब्रानको प्रोफेटले खुसुखुसु गरेझैँ लाग्यो भने कतिपय पंङ्क्ति खुला स्थानबाट सुफी कवि रुमी चियाएझैँ लाग्यो । कहीँकहीँ भने जेन कविताको अर्थपूर्ण मौनता सुनेँ । यी मेरा प्रिय कविहरूका आवाज थिए । यसै आवाजसँग नवीनका कविताको ध्वनिलाई मिसाएर सुने ।
नवीन प्राचीनका कविता चेतनाको लयले बाँधिएका छन् । चेतना चेतबाट उब्जिन्छ । कविको चेत त्यतिखेर खुल्छ जतिखेर उसको सम्बेदना थर्थराउँछ । सादत हसन मन्टोले बारम्बार बुझाउने प्रयत्न गरे— हेर, संवेदनामा चोट नपुगेसम्म गतिलो लेख्न सकिँदैन । नवीनले पनि अधिकांश कविताहरू संवेदना थर्थराएपछिको बोधबाट लेखेका छन् । चेतनाको लय भएको कविताको अनुवादीय गुण उच्च हुन्छ । शब्दको लयमा ज्यादा झुल्ने कविताहरूको अनुवाद कठीन हुन्छ । यस्ता कविताले अनुवादकलाई त्यति अपिल गर्दैनन् । कारण छ । अर्को भाषामा अनुवाद भइजाने भनेको कविताको चेतना हो, विचार हो, भावना हो । मूल कविताको शाब्दिक लय अर्को भाषामा जाँदैन । शाब्दिक लय त अनुवादक आफैँले पुनर्सिजना गर्नुपर्दछ । रहने भनेको कविताको चेतना लय हो । नवीनका कवितामा शब्द–लयभन्दा पनि चेतना–लय प्रबल भएकाले अनुवादको प्रवाह तुलनात्मक रुपमा सहज रह्यो ।
कविको सृजना गर्ने र अनुवादकको अनुसृजना गर्ने प्रकृया भने विपरीत हुन्छ । कवि जहाँबाट बाहिरिन्छ, अनुवादक त्यहीँबाट भित्रिन्छ । कविताको यात्रा अमूर्तबाट आरम्भ हुन्छ र भाषाको मूर्त रूपमा पुगेर टुङ्गिन्छ । कवि चेतनाको गहिराइबाट भाषाको सतहतिर यात्रारत रहन्छ । यता छ अनुवादक । ऊ भाषाको द्वार हुँदै कविको चेतनाभित्र प्रवेश गर्दछ । उसको यात्रा मूर्तबाट अमूर्ततिर उन्मुख हुन्छ । अनि अमूर्त चेतनालाई फेरि अर्को भाषाको सहायताले मूर्तरूप दिन्छ । यसको अर्थ, अनुसृजनाको यात्रा सृजनाको भन्दा दुईगुना लामो हुन्छ । यस्तो यात्रा बढो भ्रामक र जोखिमपूर्ण हुन्छ । विशेष गरी नवीनका जस्ता शब्द पक्रिन कठीन, तरल, अल्पशब्दहारी कविताहरूको अनुवाद गर्दा अनुवादक निकै धर्मराउँछ । यिनका छक्काउने शब्दहरूले म अनुवादक निकै पटक छक्किएँ । लेखक र पाठकलाई जतिवटा अर्थ खेलाए पनि छुट हुन्छ । तर अनुवादकले भने एउटामा निर्णय गर्नुपर्ने हुन्छ । यस्तो निर्णय कतिपय अवस्थामा ठ्याक्कै उल्टो हुने गर्छ । यिनका कतिपय रहस्यउन्मुख शब्दहरूको रहमा डुबेर अर्थ निकाल्न मलाई निकै हम्मेहम्मे भयो । अर्थको एउटा पयो समातेर अगाडि बढ्दा कतिपटक म निकासविहीन गल्लीमा पुग्थेँ । त्यहाँबाट फर्किएर फेरि अर्थको अर्को पयो समाउनु पर्दथ्यो । तर अर्थको यो पयो पनि कहाँ फुत्किन्छ र म कहाँ पुगेर हराउँछु भन्न सकिन्नथ्यो ।
नवीन परे अल्पशब्दहारी कवि । यस्ता कविको सृजना अनुवाद गर्दा एक शब्द थप्न पनि सोच्नुपर्ने, घटाउँदा पनि घोत्निुपर्ने । धन्न म अल्पशब्दहारी कवितासँग केही भए पनि पहिल्यै परिचित थिएँ । एमि लोवेलका इमेजिस्ट कविताहरूले मलाई यो चेतना दिएका थिए । साइलेन्स यस्ता कविताहरूको प्राण हो । शब्दको त अनुवाद गरौँला तर मौनताको के होला ! मौनतालाई अनुवादमा बुझाउन न त केही थपेँ, न त केही हटाएँ । मौनतालाई मौन नै रहन दिएँ । यसलाई केबल क् अर्थात् साइलेन्सको चिह्न राख्यौँ नेपाली र अङ्ग्रेजी दुवैमा । यो चेत मलाई आध्यात्मिक गुरु इक्हार्ट टोलेको पुस्तक द पाउर अव नाउबाट आयो ।
अनुवादका व्रmममा कविताको अर्थ फुकाल्दा जहाँजहाँ अनर्थ भयो त्यहाँ कविको टेको मागेँ । दुई वर्षअघि नीरज भट्टराईको धुँवाको धागो अनुवाद गर्दा पनि म यसरी नै धर्ममराएको थिएँ । मैले यी कविका कविता जति पढेँ त्यति नै उनीहरूसँग बसेर संवाद पनि गरेँ । मेरा लागि कवि आवश्यक पर्दा आफ्ना कविताका व्याख्याता बने । कतिपय अवस्थामा यी मेरो अनुवादको प्रथम पाठक, आलोचक, प्रशंसक र सम्पादक पनि बने ।
सृजनाको मर्म बुझ्ने अनुवादक र अनुवादको धर्म बुझ्ने सर्जकको मिलनबाट असल अनुवाद आउँछ झैँ लाग्छ । म अनुवादक सृजनाको मर्म बुझ्ने यत्नमा रहन्छु । यसका लागि म आफैँ कवि हुँ भन्ने भ्रम पाल्छु र यही भ्रमको सहाराले अरूको सृजनामा प्रवेश गर्छु । कविलाई अर्को भाषामा प्रवेश गराउँछु । म खोजीमा रहन्छु त्यस्तो कविको जसले अनुवादको धर्म बुझेको होस् । धर्मभित्र स्वतन्त्रता र जिम्वेवारी दवैको बोध रहन्छ । उसले आफ्नो सृजनामा अनुवादकलाई सहजै धारण गरोस् । अनुवादकमा कवि हृदय होस, र कविमा अनुवादकीय चेतना । अनुवादक कवि नै हुनुपर्छ भन्ने छैन । उसको कवि चित्तले कविलाई पढोस्, सुनोस्, अनि त्यसलाई अर्को भाषामा लेखोस् । कवि पनि अनुवादक हुनुपर्छ भन्ने होइन तर उसले अनुवादकको जिम्मेवारी र सर्जकीय स्वतन्त्रतालाई आदर गरोस् । अनुवादको सीमा र महŒव दुवै बुझेको होस् । उसले मनन् गरोस्— ऊ झैँ उसको अनुवादक पनि रोमान्चक हुन्छ बिम्व पव्रिmने शब्द भेटाउँदा । अनुवादक पनि ऊ झैँ छटपटाउँछ खोजेको शब्द नभेट्दा । ऊ झैँ अधैर्य हुन्छ उसको अनुवादक पनि भावना र भाषाको मेल नहुँदा । ऊ झैँ उसको अनुवादक पनि साँझमा शून्य मन लिएर एकोहोरिरहन्छ दिनभरको सृजनात्मक थकान बोकेर ।
नवीन प्राचीनले मेरो अनुसृजनात्मक उत्तेजनालाई आफ्नो सृजनात्मक उत्तेजना सम्झे । आफैँले भोगेझैँ गरे जसरी मैले उनको कविता आफैँले सृजना गरेझैँ गरेँ । उनको सृजना उभिएर एक्लैमा हामी दुवै सँगै उभियौँ । उनी कवि म अनुवादकतिर ढल्किए, म अनुवादक उनी कवितिर ढल्किएँ । हामी दुवैको उभिने साझा पाठ्य–जग्गा एउटै रह्यो । (This article was published on 1 Ashoj 2073 issue of Naya Patrika National Daily www.enayapatrika.com/2016/09/90314 )
आफ्नो छायाबाट कोही पनि अलग हुन सक्दैन
बलराम अधिकारी
---
बुढिँदै गएका एक प्राध्यापकले भनेको सुनेँे— केबल छाया हो अनुवादक ।
प्रौढतातिर उक्लिँदै गरेको मेरो मस्तिष्कले दोहो¥यायो— केबल छाया ।
कसले भनेको हो यो ? म जान्न चाहन्थेँ । यसो भन्ने आधार के ? कारण के ? मेरो मनमा उठेका प्रश्नहरू व्यक्त नहुँदै प्राध्यापकबाट जवाफ आयो— यो मेरो विचार होइन । क्वीटिलियन नामका विद्वान्ले भनेका हुन् । यी विद्वान्सँग उत्तरसंरचनावादीहरू सहमत छैनन् । म पनि सहमत छैन ।
ती प्राध्यापकले यति भनिसक्दा मेरो मनमा अर्को प्रश्न उठ्यो— छाया त छाया तर कस्को ? प्रश्न प्राध्यापककोमा पुग्यो । जवाफ आयो— लेखकको । अब म भने क्वीटिलियनसँग सहमत भएँ । लेखकको छाया हो अनुवादक भन्ने यिनको बुझाई राम्रै लाग्यो । मलाई स्वीकार्य थियो लेखकको छाया हुनुमा ।
मैले त्यसै कक्षाकोठामा त्यही बखत अनुवादक बन्ने अर्थात् लेखकको छाया बन्ने सोचेको थिएँ । यही सोच लिएर कोठामा पुगेँ, पारिजातको मैले नजन्माएको छोरो अङ्ग्रेजीमा अनुवाद गर्न थालेँ । एक सातापछि अनुवादको खेस्रा गरेर तिनै प्राध्यापकलाई देखाएँ । उनले मेरो प्रयत्नको प्रशंसा त गरे तर अनूदित कथाको पहिलो एक दुई पंक्ति पढेपछि यस्तो कठीन अनुवादमा हात हाल्ने बेला नभएको बताए । पहिले परीक्षाको तयारी गर्न सल्लाह दिए । उनले पुरै अनुवाद पढ्न आवश्यक ठानेनन् । पढेनन् । यसको अर्थ, म पहिलो अनुवादमा नै असफल भएँ । तर मेरो ध्येय कथा भन्दा पनि कथाकारसँग जोडिने थियो । अनुवाद जस्तोसुकै होस् म पारिजातसँग जोडिन चाहन्थेँ । क्वीटिलियनले भने झैँ म उनको छाया बन्न चाहन्थेँ ।
मलाई लाग्यो लेखकको सङ्गतमा रहने यो सबैभन्दा उत्तम रोजाइ थियो । लेखकको छाया बन्दा कमसेकम म लेखकको साथमा त रहन्छु कहिले दृष्य भएर त कहिले अदृष्य भएर ।
विद्यालय छिरेदेखि नै लेखक मेरा लागि स्तुतीय बने । लेखकले मलाई आफूसँग जे छ त्यसमा गर्व गर्न सिकाए । सम्झन्छु अझै पनि उही लय र उमङ्गमा सानामा गाएको महेन्द्रमालाको कविता— सानो छ खेत सानो छ बारी सानै छ जहान । हाम्रो सात कठ्ठाको सानो खेत थियो । जम्मा दश हात मोहोडाको सोतो परेको खेतको उब्जनीले कहिल्यै वर्षदिन खान पुगेन । तर कविले हाम्रो लामपुछ«े खेतको गुणगान गरे । मलाई आफ्नो सानो खेत देखेर हिनतावोध हुन छाड्यो । बरु चिच्याई चिच्याई अरुलाई सुनाउन थालेँ— सानो छ खेत सानो छ बारी... ।
लेखकले मलाई दिक्कालको सीमाभन्दा बाहिर लिएर गए । लेखकको कल्पनाको उडानसँगै मैले आफ्नो भूगोल र समयभन्दा परको दुनियाँ देखेँ आफ्ना मनका आँखाले । दौलत विक्रम विष्टको चपाइएका अनुहारको साथ लागेर म अफ्रिकाको जंगलसम्म पुगेँ । पारिजातको शिरीषको फूलले मलाई वर्माको युद्धभूमिमा पु¥यायो । मदनमणि दीक्षितको माधवीले उत्तरवैदिक कालमा प्रवेश गरायो ।
लेखकले मलाई प्रेमको उत्तेजना र उमङ्ग देखाए, अनि विछोडको विरह र वेदना पनि । यस्तै देखेँ यासुनारी काबावातको हिमदेशमा, गोविन्द मल्ल गोठालेको पल्लोघरको झ्यालमा, लैनसिंह बाङ्देलले मुलुक बाहिरमा ।
लेखकले मलाई मनोरञ्जन दिए । वेदप्रकाश शर्माका हिन्दी उपन्यासका पाना पल्टाउन पाएपछि गर्मी विदाका लामा दिनहरू निकै छोटा लाग्थे । युधिर थापाका उपन्यासहरुले क्याम्पसका यान्त्रिक पढाइबाट त्राण दिन्थे ।
लेखकले मेरो मष्तिस्कका लागि आवश्यक पोषणयुक्त चेतना दिए । जीवनलाई हेर्ने दृष्टिकोण दिए, भोग्ने शैली बताए । खलिल जिब्रानको द प्रोफेट, हर्मन हेस्सेको सिद्धार्थ, जे कृष्णमूर्तिको द फस्ट एन्ड लास्ट फ्रिडमसँग भेट नभएको भए मेरो जीवनको बाटो अर्कै हुन्थ्यो, हिँडाइको गति अर्कै ।
लेखकले मलाई असल मित्र दिए । यिनले दिएका पुस्तकभन्दा असल मित्र मैले आजसम्म फेला पारेको छैन । पुस्तकसँग रहँदा म आफूलाई कहिल्यै एक्लो महसुुस गरिनँ । गर्दिनँ ।
मेरा प्रिय लेखकहरू मैले सोच्न नसेकेको सोच्थे । मैले नदेखेको दुनियाँ देखाउँथे, नबुझेको रहस्य बुझउँथे, नपुगेको भूगोलमा पु¥याउँथे । यिनका सृजनामा मेरा आफ्नै अव्यक्त अनुभूतिहरू व्यक्त भएझैँ लाग्थो । पछिपछि मलाई उदेक लाग्न थाल्यो— के हो यो लेखक भन्ने प्राणी ?! भेट्नु त परै जाओस, कहिल्यै देखेको पनि होइन । तर उसका शब्दले जीवनमा उर्जा आउँछ । शरीरमा उत्तेजना सलबलाउँछ, मनमा अनेकौँ भावना उम्लिन्छ । मेरा लागि कहीँ कुनै चमत्कारी थियो भने त्यो लेखक नै थियो ।
म लोभिन्थे यिनका सृजनाको भाषा देखेर । विद्यालय र विश्वविद्यालयका कक्षाकोठामा, परीक्षा कोठामा मैले भाषासँग सधैँ अनुनय गरेँ— मलाई साथ देऊ । विद्यालय र विश्वविद्यालयका नेपालीका शिक्षकहरू भन्थे— देवकोटालाई शब्दहरूले पछ्याउँथे । म कल्पना गथेँ— तालु खुइलिएको मान्छे दौडँदै छ, भाग्दै छ । हावाले उडाएका सिसौका सुकेका पातझंै शब्दहरू उसका पछाडि दौडिरहेका छन् । भन्दैछन् ती— लेख हामीलाई लेख ।
यता आफू छु दिनमा एउटा शब्द पनि याद गर्न धौधौ पर्ने । वाक्यमा प्रयोग गर भन्दा निकै बेर कलम टोक्ने । भाषा मसँग कहिल्यै प्रेमलिन बनेन । ऊ हल हल मात्र भन्थ्यो । म पछिपछि लुरुलुरु हिँडिरहेँ । म जति जति पछ्याउथेँ ऊ उतिउति पर जन्थ्यो र मलाई आइजआइज भने झैँ गथ्र्यो । यो क्रम अहिले पनि उस्तै छ । तर मेरा लेखकको लेखनीमा तिनका भावना र भाषा एउटै तालमा नाचेको देख्थेँ । भावना र भाषा एकाकार भएपछि तिनका कविता मेरा लागि मन्त्र बन्थे । तिनका कथा र उपन्यासको जगत् सजिव भएको पाउथेँ । तिनका निबन्ध मेरा लागि चिन्तनको चौतारी बन्दथ्यो । यस्तो चमत्कारी चेतना बन्न नसकेपनि कमसेकम म यसको छाया त बन्न सक्छु । यही छायावी अस्तित्व स्वीकार गर्दै म अनुवादमा लागेँ ।
अनुवाद अर्थात् अनुवाचन— लेखकलाई अनुसरण गरेर गरिने बाचन । लेखक बोल्छ, अनि म बोल्छु ऊ पछि । म लेखकको भाषा बुझ्छु, उसको चेतनामा भित्रिन्छु । त्यसपछि बाहिर निस्किएर अर्को भाषामा बोल्छु । भावना उसको तर अनुवाचनको भाषा मेरो । यसरी नै मैले अनुवाचन गरेँ गोविन्दराज भट्टराईको सुकरातको पाइलाको, मोतीराम भट्टको पिकदूतको, रक्ष राईको पोएट इन किलिङ् जोनको, निरज भट्टराईको धुवाँको धागोको, नवीन प्राचीनको उभिएर एक्लैको । यी लेखकहरूले पहिला सोचे–लेखे नेपालीमा । यिनलाई मैले पढेँ नेपालीमा, मनन गरेँ र मानसिक पाठ बनाएँ अङ्ग्रेजीमा । यसरी तयार भएको अमूर्त पाठलाई अनुलेखन गरेँ अङ्ग्रेजीमा । यस अनुलेखन कर्ममा लाग्दा मेरो सन्तुष्टिको पारो माथि चढ्दै गयो । चढिरहेछ । यहि सन्तुष्टिले गर्दा अनुवाद मेरो जीवनको अभिन्न पाटो बन्यो । अनुवाद बेगरको दैनिकी मलाई असहज लाग्न थालेको छ । अनुवादक झुम्पा लहरीलाई जस्तै अनुभव हुन थालेको छ अचेल मलाइ— म अनुवाद गर्छु, त्यसैले म छु । लहरीको अस्तित्वादी यस भनाइमा म केही थपी हेर्छु— लेखक छन् र म अनुवादक छु ।
म अनुवादक, म लेखकको छाया लेखकसँगै फैलिएको भानमा रमाउँछु । मेरो यो भानमा तुक पनि छ । रक्ष राईको पोयट इन किलिङ् जोन अनुवाद गरेँ । बेलायतमा छापियो । कवि राईसँगै म पनि बेलायतमा छु जहाँ म अहिलेसम्म पुगेको छैन । सार्क कल्चरल सेन्टर, कोलम्बोले मोतीराम भट्टका पिकदूत र अन्य केही कविताहरू छाप्दैछ । मोतीराम भट्टको सृजनासँगै म उनको छाया बनी श्रीलङ्कामा छु जुन मलाई चनाको जस्तो आकार भएको देश भन्ने मात्र थाहा छ । तर मलाई न त त्यहाँको हावाको वहाव थाहा छ न त पानीको स्वाद नै ।
बितेका १७ वर्षदेखि म यो विशाल एम्पिथियटर जस्तो काठमाडौँ उपत्यकामा छु । तर म अनुवादक मेरा लेखकहरूको साथ लागेर केही फैलिएको छु बाहिर । दार्जलिङ्बाट इन्द्रबहादुर राईले अनुवाद शीर्षकमा कथा लेखेका छन् । एउटा पात्रले भनेको छ— फैलिअ, नत्र सिद्धिन्छौ । फैलिने माध्यम अनुवाद हो भन्ने यस पात्रको ठम्याइ छ । हो पनि । अनुवाद नहुने लेखक आफ्नै भाषाको सानो बनपाखामा केही समय सुसेल्छ र हराउँछ । उसको सृजनात्मक सुसेली अर्को भाषाको पाखामा सुनिँदैन । भिन्न भाषी पाठकलाई सुनाउन अनुवादकले उनीहरूकै भाषामा सुसेल्नु पर्दछ । म पनि फैलिन चाहन्थे लेखकको सुसेली सुसेल्दै । मैले अनुवाद गरेका लेखकहरू जहाँजहाँ पुगेका छन् त्यहाँत्यहाँ म पनि साथै पुगेको छु तिनका छाया बनेर । म आनन्दित छु यो फैलावटमा । गत हप्ता कवि, अनुवादक रामानुजनलाई पढेपछि त लेखकको छाया बन्नुमा मलाई गर्व लाग्न थालेको छ । रामानुजन भन्छन् –आफ्नो छायाबाट कोही पनि अलग हुन सक्दैन ।
मैले अनुवाद गरेका लेखकहरू म अर्थात् आफ्नो छायाबाट अलग्गिन सक्ने छैनन् । चाहेर पनि अब उनीहरू आफ्ना अनूदित सृजनामा मेरो उपस्थितिलाई नकार्न सक्दैनन् । अनुदित सृजनाको जग्गामा लेखक र म सँगै उभिने छौँ । म मेरा लेखकहरुबाट अलग हुने छैन । (This article was published on Ashoj 2073 issue of Garima)
अनुवादक परिचय कोश—परिकल्पना, निर्माण प्रकृया र चुनौती बलराम अधिकारी
उपप्राध्यापक
त्रिभुवन विश्वद्यिालय
बौद्धिक, प्राज्ञिक एवम् सृजनात्मक काम गराइका दुई तरीका हुन सक्छन् । पहिलो हो, काम गर्ने तर त्यसको अभिलेखनलाई त्यति महत्व नदिने । यस पद्धिती अनुसार काम गर्नेहरु तोकिएको काम पुरा गर्दछन्, तर त्यसको अभीलेखन तिर लाग्दैनन् । कालन्तरमा यस्ता कामहरु समयको नादिरमा हराउँछन् । यस्तो काम गराईबाट परम्पराको निर्माण त हुन्छ तर इतिहास बन्दैन । दोेस्रो पद्धति हो, काम गर्ने र साथै त्यसको अभिलेखन पनि राख्ने । यस पद्धतिअनुसार काम गर्नेहरु तोकिएको काम पुरा भएपछि त्यसको लिखित टिपोट पनि राख्छन् जसले गर्दा अन्यव्यक्तिले कर्ता र उसको कर्मका बारेमा थप जानकारी पाउन सक्छन् । यस्तो काम गराइबाट परम्पराका साथै इतिहासको पनि निर्माण हुन्छ । कर्मको अभीलेखनले परम्परालाई इतिहासमा बदल्छ । सामन्यकृत गरि हेर्दा पश्चिमी जगत दास्रो पद्धतिबाट चलेको देखिन्छ भने पूर्वीय जगतले पहिलो पद्धतिलाई महत्व दिएको झैँ लाग्छ । यसको प्रभाव नेपाली अनुवादमा पनि परेको छ ।
नेपाली अनुवादको परम्परा लामो छ । परम्पराको समयरेखा सिच्ने क्रममा अनुवाद अध्येता गोविन्दराज भट्टराई चौधौँ शताब्दीसम्म पुगेका छन् (इ. १९९७ ) । यसको अर्थ नेपाली बहुभाषी भूमीमा अनुवाद कार्य नेपाली भाषासँगै उठेको र फैलिएको देखिन्छ । अर्कातर्फ साहित्यसँग जोडिहेर्दा नेपाली साहित्य भन्दा अनुवाद जेठो भन्न सकिन्छ । उन्नइसौँ शताब्दीसम्म अनुवाद कार्य अघि अघि र मौलिक सृजना पछि पछि हिँडेको थियो । महाभारत विराट पर्व (१८२७), हास्यकदम्ब (१८५५), रामायण (१८९८—१९१०) यसका केहि दृष्टान्तहरु हुन् । अनुवादकहरुको सपना, आकांक्षा, सीप, कला, श्रम र लगनबाट नेपाली भाषा र साहित्यले प्राणवायू लिएको थियो । शक्तिवल्लव अज्र्याल, भानुदत्त, योगी अम्बरगीरी, भानुभक्त आचार्य, मोतिराम भट्ट नेपाली साहित्यमा प्राणवायू भर्ने केहि अनुकरणीय अनुवादकहरु हुन् ।
पछि माध्यमीक कालको अन्यतिर र आधुनिककालमा समकालीन विश्वसाहित्यका लेखन नमुनालाई नेपाली साहित्यमा भित्र्याउने पनि अनुवादकहरु नै थिए । खड्गमान मल्ल, गम्भीरध्वज शाह, रिद्धबहादुर मल्ल, नरेन्द्रमणी आदी, लक्ष्मीप्रसाद देवकोटाले अनुवादको बाटो हिँडेर भारतिय उपमहाद्विप र यूरोपबाट नेपाली साहित्यमा आधुनिकताको चेतना भित्र्याएका थिए । त्यतिमात्र होइन, नेपाली साहित्यका मौलिक कृतिहरुलाई परभाषी समुदायसम्म पु¥याउने काम पनि अनुवादकबाट नै हुँदै आएको छ । अन्यभाषाबाट नेपालीमा ल्याउने र नेपालीबाट अन्यभाषामा लैजाने क्रम चलिरहेकै छ ।
नेपाली साहित्यको लेखनस्तर उठाउन विश्वका श्रेष्ठ कृतिहरुको अनुवाद गरिनु पर्छ । अर्कातर्फ नेपालका राष्ट्भाषाहरुमा लेखीएका श्रेष्ठ कृतिहरुको विश्वका अन्य भाषाहरुमा अनुवाद हुनु पर्छ । साहित्यको सवृद्धि र विस्तारको यस्तो चाहना र चिन्ता नेपाली साहित्यक र प्राज्ञिक वृतमा व्यक्त हुँदै आएको छ । राष्ट्यि साहित्य उकास्न र फैलाउन दुबैका लागि राम्रा अनुवादक चाहिन्छ भन्नेमा हामी सबै सहमत छौँ तर अनुवादकहरुको स्थितिका बारेमा भने न त प्रकाशकहरु त्यति गम्भीर छन् ,न त लेखक नै । न उनिहरुको पहिचानका निम्ती कुनै संस्थाबाट त्यस्तो नितिगत प्रयास नै भएको छ । नेपाली साहित्य इतिहासको निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका अनुवादकहरुको आफ्नै इतिहास छैन । लामो परम्परा भएको नेपाली अनुवादको इतिहास भने निकै छोटो, कमजोर, धुमील, अनिर्णीत र धरमराउँदो छ ।
नेपालमा अनुवादको यस्तो स्थितिलाई मनन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठान अन्तरगतको विश्व साहित्य तथा अनुवाद विभागले अनुवादक परिचय कोशको परिकल्पना गरेको हो । यसलाई नेपाली अनुवादको इतिहास लेखनमा भएको एक महत्वपूर्ण पहलका रुपमा लिन सकिन्छ ।
अनुवादक परिचय कोशको आवश्यकता
क) अनुवादको अभिलेखिकरण
अनुवाद सृजनात्मक कर्मका साथै अध्ययन, अनुसन्धानको विषय पनि हो । सन् १९८० यताको समयलाई हेर्दा अनुवाद एक प्राज्ञिक विधाका रुपमा विकास हुँदै आएको छ । आफ्नै परम्परा र इतिहास भएको सुजनात्मक, बौद्धिक एवम् व्यवसायीक क्षेत्र हो अनुवाद । विश्वका अधिकांश देशहरुमा अनुवादको अलग्गै इतिहास लेखिएको छ । दृष्टान्त हेतु ड्यालिअल वेसवोर्ट र अस्टडर एस्टेनशनले सम्पादन गरेको अनुवाद सिसद्धान्त र अभ्यासः ऐतिहासीक पठनृद्देलाई लिन सकिन्छ । यो पुस्तक पश्चिमी मूलुकहरु हुँदै आएका अनुवाद गतिविधिहरुको अभिलेखनको एउटा अनुकरणीय नमूना हो । यसमा २५ सय वर्ष अघिका अनुवादक सिसेरो देखि समकालीन अनुवादकहरु लोरेन्स भेनुती, गायत्री चक्रवर्ती, मोना बेकरसम्मको परिचय, प्रत्येक अनुवादकका प्रतिनिधी अनुवादहरु, प्रत्येकको अनुवाद प्रवृति, अनुवाद प्रतिको दृष्टिकोण र सैद्धान्तीक झुकाव प्रस्तुत गरिएको छ । त्यसै गरि मोना बेकर र साल्दन्हाद्वारा सम्पादित राउटलेज अनुवाद अध्ययन विश्वकोश (इ. २००९)ृघे अर्को उल्लेखनिय ग्रन्थ हो । यसमा अनुवादका आधारभूत अवधारणा, सिद्धान्तका साथै विश्वअनुवादको वृहत्तर ऐतिहासिक रेखाङ्का प्रस्तुत गरिएको छ । यस विश्वकोशमा अफ्रिका, अरव, अमेरिका, बेलायत, चीन, भारत गरि ३२ देशका अनुवाद परम्परा र अनुवादकहरुको चर्चा भएको गरिएको छ ।
यता हाम्रो अनुवादको स्थिति भने निकै भिन्न मात्र होइन टिठलाग्दो पनि छ । हाम्रोमा हाल कति अनुवादकहरु छन् त्यसको सामान्य सुचि पनि छैन । विगतमा कति अनुवादकहरुले के कस्ता कृतिहरुको अनुवाद गरे र उनीहरुको अनुवाद प्रवृति कस्तो थियो भन्ने कुनै जानकारी छैन । भारत, चीन जापानको अनुवाद परम्पराको चर्चा भएका पुस्तकहरुमा नेपालमा पनि अनुवाद हुँदै आएको छ भन्ने कुनै संकेत कतै भेटिँदैन ।
अनुवाद कर्मको व्यवस्थित अभिलेखिकरण नहुनुले पनि नेपालको अनुवाद क्षेत्र पछि परेको हो । पर्याप्त अभिलेखनको अभावमा अनुवादको समग्र र भरपर्दो इतिहास लेख्न कठिन हुन्छ । त्यसै गरि अभिलेखनको अभावले गर्दा नेपाली अनुवाद अभ्यासको सैद्धान्तीकीकरण हुन सकेको छैन । अभिलेखन र सैद्धान्तीकरण नहुँदा नेपाली अनुवादको अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्र पनि अन्यौलनमा छ । हाल नेपालका सबैजसो विश्वविद्यालयहरुका भाषा, साहित्य र दर्शनका पाठ्यक्रमहरुमा अनुवाद विषय समावेश भएको छ । तर नेपाली अनुवादकका बारेमा जानकारी दिने कुनै आधारभूत संदर्भसामाग्री छैन । यस्तो स्थितिमा नेपाली अनुवादको अध्ययन, अध्यापन र अनुसन्धानकालागि अनुवादक परिचय कोश प्रवेश विन्दु हुन सक्छ ।
ख) अनुवादकको सर्जकिय पहिचान या उपस्थिति
अनुवादकले सर्जकलाई चिनाउने, फैलाउने र पाठककोमा पु¥याउने काम गर्दछ । तर हाम्रो सन्दर्भमा भन्नु पर्दा सर्जकलाई चिनाउने व्यक्ति नै आफ्नो सर्जकिय पहिचानबाट बन्चित छ, सर्जकलाई फैलाउने व्यक्ति नै कतिपय अवस्थामा धन्यवादको पात्रमा सिमित भएको छ, सर्जकलाई वृहत परिदृष्यमा लैजाने व्यक्ति नै अदृष्य भएको छ । अनुवादकको यस्तो अवस्थालाई अनुवादविद् लोरेन्स भेनुतीले अनुवादकको अदृष्यता भनेको छन् । नेपालका अधिकांश अनुवादकहरु कुनै न कुनै रुपले अदृष्य छन् ।
कतिपय अनुदित पुस्तकहरुमा अनुवादकको नाम नै उल्लेख भएको हुँदैन भने कतिपयमा अनुवादकलाई पुस्तकको भित्री पृष्ठमा मात्र सीमित गरेको भेटिन्छ । यस्तो प्रवृत्तिले अनुवादक आफ्नै अनुसृजनामा अदृश्य या किनारीकृत बन्ने गरेकोे छ; उसको सर्जकीय पहिचान पनि गुमेको छ र ऊ केवल लेखकको छाया बनेको छ । अनुवादकको उपस्थितिलाई किनारीकृत गरिएका प्रशस्त दृष्टान्तहरू छन् ।
तुलसी दिवसद्वारा सम्पादित तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको सेभेन पोयट्स (इ. १९६४) यसको एउटा दृष्टान्त हो । अनुदित सङ्ग्रहमा परेका कविहरु (लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, माधवप्रसाद घिमिरे र म.वी.वि. शाह) प्रत्येकको परिचय दिइएको छ, सम्पादकले सम्पादकीयमा आफ्नो स्थान सुरक्षित गरेका छन्, तर अनुवादक (हरू) भने झण्डै अदृश्य छन् । कनै पनि अनुवादकको परिचय खुलाइएको छैन । त्यतिमात्र होइन, कुन कविता कसले अनुवाद गरेको हो भन्ने जानकारी समेत छैन । प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कविता (२०५९, भाद्र–मार्ग) को ७८ औँ र ८१ औँ अङ्कमा पनि अनुवादकको उपस्थितिलाई गौण बनाइएको छ । सङ्ग्रहको अग्रपृष्ठमा प्रधान सम्पादक, अतिथि सम्पादक र सम्पादकका नाम बोल्ड फेसमा स्पष्ट बुझिने गरी लेखिएको छ । अर्कातर्फ अनुवादकहरूलाई भने अनूदित कविताको पुछारमा साना अक्षरमा सीमित गरिएको छ । त्यसैगरि, पत्रिकाको अन्त्यमा प्रत्येक कविको संक्षिप्त परिचयले स्थान पाएको छ तर अनुवादकका बारेमा कतै केही उल्लेख भएको छैन । वाणी प्रकाशनको द फुलमून एट द रिभर व्याङ्क (कृष्ण भूषण वलका कविताको सङ्ग्रह)अर्को दृष्टान्त हो । यस अनुदित संग्रहमा पनि अनुवादकहरू सम्पादकका छायाले छोपिएका छन् । कहाँसम्म भने अनुवादकको पहिचान र अधिकारका बारेमा वकालत गर्दै आएका अनुवादक गोविन्दराज भट्टराईलाई समेत लेखकले किनारा लगाएका छन् । कुमारजङ्ग कुँवरको गैँडालाई चारवर्षको अङ्ग्रेजी अनुवाद फोर एअर्स फर द राइनो (२०६९) लाई हेर्दा लेखक आफैँले उक्त पुस्तक अङ्ग्रेजीमा लेखेको झै लाग्छ । अङ्ग्रेजी अनुवादको मुख्य पृष्ठमा लेखकको नाम बोल्ड फेसमा राखिएको छ भने अनुवादकलाई साना अक्षरमा प्रकाशकीय पृष्ठमा कतै घुसाइएको छ । कृतिमा लेखकको मन्तव्य छ भने अनुवादकको मन्तव्यलाई हटाइएको छ । नेपालयद्वारा प्रकाशित नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास पल्पसा क्याफेको अङ्ग्रेजी संस्करणमा अनुवादकलाई कृतज्ञताज्ञापनमा सीमित गरिएको छ । सामान्य पाठकलाई उक्त कृति लेखक स्वयम्ले अनुवाद गरेको या अङ्ग्रेजीमा नै मौलिक रूपमा लेखेको भान पर्न सक्छ । अनुवादकको पहिचान धरापमा परेका बाँकि दृष्टान्तहरु प्रकाशोन्मूख अनुवादक परिचय कोशको भूमीकामा उल्लेख हुनेछन् ।
अनुवादक किनारामा धकल्ने यस्तो प्रवृति अनुवादको अन्तर्राष्ट्रिय मान्यता विपरीत छ । अनुवादक चार्टरको दोस्रो खण्डले अनुवादकको सर्जकीय उपस्थितिको सुनिश्चित गरेको छ । यसमा अनुवादकको नाम प्रष्ट र बुझिने गरी उल्लेख गर्नुपर्दछ भनिएको छ । अनुवादको विनिर्माणवादी सिद्धान्त र सौन्दर्यपरक पद्धतिका दृष्टिकोणबाट हेर्दा पनि अनुवादकको गौण उपस्थिति तर्कसङ्गत छैन, किनभने विनिर्माणले अनुवादलाई सिर्जना र अनुवादकलाई सर्जकको स्थानमा राखेको छ । अनुवादकको उपस्थिति उसको सर्जकीय स्वाभिमान, सामाजिक प्रतिष्ठा र पेशागत उत्तरदायित्वसँग जोडिएको हुनाले अनुवादका क्षेत्रमा कार्यरत व्यक्ति तथा सङ्घसंस्थाहरू यसतर्फ सचेत नहुञ्जेल अनुवादको समग्र उत्थान हुने सम्भावना देखिँदैन । अनुवाद इतिहासको लेखन, अनुवाद ग्रन्थसुचिको निर्माण, अनुवादकहरु सस्थागत सुचिको प्रकाशन, अनुवादक परिचय कोशको निर्माण जस्ता पहलहरुबाट मात्र अनुवाद क्षेत्रको विस्तार हुन सक्छ ।
अनुवादकलाई चिनाउने प्रारम्भिक प्रयासहरु
सामान्यतः अनुवादकिय व्यक्तित्वलाई सर्जकको साहित्यीक व्यक्तित्वको थप पाटोका रुपमा लिने गरिन्छ । अधिकांश अनुवादकहरुको परिचय उनीहरुको साहित्यिक परिचयसँग जोडिएर आएको देखिन्छ । यो स्वाभाविक पनि हो किनभने नेपालका अधिकांश साहित्यकारहरु अनुवादक पनि थिए र पनि छन् पनि । भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लैनसिँह वाङ्देल जस्ता मानक निर्धारक साहित्यकारहरु अनुवाद पनि गर्दथे । त्यसैले यस्ता व्यक्तिहरुको परिचय दिँदा संपादकले उनीहरुको अनुवादको पाटोलाई पनि कतै जोडेको पाइन्छ । यसको अर्थ, अनुवादकीय व्यक्तित्वलाई साहित्यीक व्यक्तित्वसँग नत्थी गरेर राख्ने गरिएको छ । त्यसैले अनुवादकीय व्यक्तित्वमाथि प्रकाश पार्दा प्राय यस्ता वाक्यहरु लेखिने गरिन्छ ः
उनी अनुवादक पनि थिए । ...
उनले अनुवाद पनि गरेका छन् । ...
उनका अनुदित पुस्तक पनि प्रकाशीत छन् । ...
यद्यपी यस पनिले जोडेको परिचयले पनि केहि काम त गरेकै छ । कमसेकम लेखकको अनुवादकीय पाटो बाहिर आएको छ । गोविन्दराज भट्टराई (२०७४) का अनुसार अनुवादकीय पाटोलाई स्थान दिने कार्यको थालनी साहित्यकार परिचय र अभिव्यक्ति शीर्षकको कोशबाट भएको हो । यस कोशका संकलक एवम् सम्पादक जयदेव भट्टराई हुन् । तत्कालीन राजकिय प्रज्ञाप्रतिष्ठानले २०४० मा प्रकाशन गरेको यस परिचय कोशमा सम्पादक जयदेवले अनुवादकालागि अलग्लै शीर्षक छुट्टाएका छन् । जम्मा ६३१ पृष्ठको यस कोशमा उनले विवराणात्मक शैलीमा ६३१ साहित्यकारको परिचय प्रस्तुत गरेका छन् ।
प्रज्ञाप्रतिष्ठानबाट नै प्रकाशीत अनुवाद ग्रन्थसूचीले पनि अनुवादकका बारेमा केहि जानकारी दिएको छ । अनुवाद ग्रन्थसूची नेपाली अनुवादका क्षेत्रमा भएको पहिलो ऐतिहासिक अनुसन्धान पनि हो । माधवलाल कर्माचार्य र इश्वरमान रन्जितकारद्वारा संकलित एवम् सम्पादित २२६ पृष्ठको यस ग्रन्थसूचीले अनुवाद कार्यलाई विशिष्ट क्षेत्रका रुपमा प्रस्तुत गरेको छ । वि.सं. २०५९ मा प्रकाशीत यस ग्रन्थमा १८५५ देखि २०५८ सम्ममा नेपाली, नेपालभाषा र मैथिलीमा अनुवाद भएका र यि भाषाहरुबाट अनुवाद भइ नेपालीमा आएका ग्रन्थहरुको सुचि दिइएको छ । यसमा नेपाली, अङ्ग्रेजी, असमिया, उर्दू, चिनिया, जर्मन, जापानी, मैथिली, नेपालभाषा गरि १४ भाषामा अनुवाद गर्ने जम्मा ७२० जनाको नाम, अनुदित पुस्तक, प्रकाशक र प्रकाशन मिति, मूल पुस्तक र मूल लेखक समेटिएको छ । ग्रन्थसूची भएकाले यसमा प्रविष्टि भने अनुदित पुस्तकको छ, त्यसपछि मात्र अनुवादकको नाम दिइएको छ । अनुदित पुस्तक र अनुवादकको बारेमा आधारभूत जानकारिका लागि यो ग्रन्थ निकै उपयोगी छ । वास्तवमा प्रस्तुत अनुवादक परिचय कोशको निर्माणमा यो ग्रन्थ एक प्रमुख आधारका रुपमा प्रयोग भएको छ ।
म्यारी डे चेन र भास्कर गौतमको नेपाली एन्ड नेपाल भाषा लिटरेचर इन इङ्लिस ट्रान्सलेशनः अ रिफरेन्स बिब्लोग्राफी (इ.१९९९) शीर्षकको लेखले पनि नेपालको अनुवाद गतिविधीलाई केहि हदसम्म समेटेको छ । अनुसन्धानमूलक यस लेखमा नेपाली र नेपाल भाषाबाट अङ्ग्रेजीमा अनुवाद भएका पुस्तक र फुटकर रचनाहरुको अनुवादको सूचि दिइएको छ । यस सुचिबाट पनि अनुवादकहरुको सामान्य जानकी प्राप्त गर्न सकिन्छ ।
प्रज्ञा प्रतिष्ठानकै पछिल्लो प्रकाशन साहित्यकार–कलाकार परिचय कोशमा पनि अनुवादको केहि पाटो खुलाइएको छ। विष्णु प्रभातद्वारा सम्पादित २०७० मा प्रकाशन भएको यस कोशमा साहित्यकारको परिचय अन्तरगत सम्पादरअनुवाद शीर्षक पनि दिइएको छ । तर यो त्यति व्यवस्थित भने छैन । कारण, यस शीर्षक अन्तरगत दिइएका अधिकांश पुस्तकहरु सम्वन्धित व्यक्तिले अनुवाद गरेको हो या सम्पादन भन्ने खुलेको छैन। त्यसैगरि कतिपय अनुदित पुस्तकको मूल लेखक र शीर्षक उल्लेख छैन । यस कोशले अनुवादकलाई जुन स्थान दिएको छ यो केवल जयदेव भट्टराईको कोशको निरन्तरता हो । तथापी साहित्यकोशमा अनुवादकीय पक्ष पनि समेट्नुलाई भने सकरात्मक रुपमा नै लिनु पर्दछ । साहित्यकार कोशको मूल ध्येय सर्जकको मौलिक लेखनकलाई प्रकाशमा ल्याउनु हो । त्यसैले यस्तो कोशमा अनुवादकीय पक्षको विस्तृत जानकारी खोज्नु त्यति व्यवहारिक नहुन सक्छ । यसका लागि अनुवादकहरुको अलग्गै कोशको आवश्यकता पर्छ । यहि आवश्यकताको वोध भएर अनुवाद विभागले प्रस्तुत अनुवादक परिचय कोशको परिकल्पनालाई परियोजनामा ल्याएको हो ।
कोश निर्माण प्रकृया
यस कोशको निर्माणकालागि विभागीय प्रमुख प्राध्यापक उषा ठाकुरको मातहतमा छ सदस्य समितिको गठन भएको छ । यस समितीले अनुवादककाबारेमा सुचना सङ्कलन गर्ने, संकलित सुचनाका आधारमा उनीहरुको परिचय लेख्ने र सम्पादन गर्ने काम गर्दै आएको छ । प्राध्यापक गोविन्दराज भट्टराई कार्यकारी निर्देशक रहेको यस परियोजनामा सङ्कलक एवम् सम्पादकको चयन गर्दा भाषाविशेषलाई आधार बनाइएको छ जस अनुसार गोविन्दराज भट्टराई, बलराम अधिकारी र जयदेव भट्टराइ (अङ्ग्रेजी र नेपाली), नविन चित्रकार (नेपाल भाषा), माधव लामिछाने (संस्कृत), प्राध्यापक योगेन्द्र प्रसाद यादव (नेपाली र नेपाल भाषा वाहेकका मातृभाषा) रहेका छन् । यहाँ बुझ्नु पर्ने कुरा के छ भने समितीले नेपालमा बोलिने भाषाहरुबाट र भाषाहरुतर्फ भएको अनुवादलाई नेपाली अनुवादका रुपमा लिएको छ । यसको तात्पर्य, नेपालका कुनै पनि भाषामा या भाषाबाट अनुवाद गर्ने व्यक्ति यस कोशको प्रविष्टीकालागि योग्य रहने छ । यद्यपी यसकालागि कम्तिमा एउटा अनुवदित पुस्तक प्रकाशन हनुपर्ने शर्त राखिएको छ ।
संघसस्थाका प्रतिवेदन र अन्य प्राविधिक पाठ तथा कर्मकाण्डका अनुवाद यस कोशको प्रवृष्टिमा परेका छैनन् । अनुवादका क्षेत्रहरुमा आत्मकथा, जीवनी, इतिहास, संस्कृति, उपन्यास, कथा र लोककथा, कविता, नाटक, निबन्ध, दर्शन र नीति, बालसाहित्य, समालोचना रहेका छन् । यि क्षेत्रहरुको निर्धारण गर्दा समितिले पूर्व प्रकाशीत अनुवाद ग्रन्थसूचीलाई आधार बनाएको छ । सम्पादक मण्डलका साथै अनुवादक प्रविष्टि लेखकको पनि व्यवस्था गरिएको छ । प्रविष्टि लेखकको संख्या भने खुला राखिएको छ । जसले जुन अनुवादकका बारेमा लेखेको हो उसको नाम प्रविष्टीको अन्त्यमा दिने व्यवस्थ गरिएको छ । साथै, प्रविष्टि लेखकले प्रतिष्ठानबाट तोकिएको पारिश्रमिक पाउने व्यवस्था पनि भएको छ ।
सुचना संकलनका लागि समितीले सुचना संकरलन फारमको निर्माण गरेको छ जसमा अनुवादका साथै अनुवादकको मौलिक लेखनको क्षेत्रलाई पनि स्थान दिइएको छ । दुइभन्दा बढिको समुहमा रहेर संयुक्त अनुवाद गरेका या संग्रहमा परेका अनुवादकहरुकालागि पुस्तक प्रवृष्टिको आधार बनाइएको छ । उदाहरणकालागि, बियोेन्ड द फ्रन्टियर्ज (विमन्ज् स्टोरिज फ्रम नेपाल)लाई लिऔँ । गुन्जनले प्रकाशन गरेको यस अनुदित कथा संग्रहमा रहेका ३० वटा कथालाई १० जना अनुवादकले अङ्ग्रेजीमा रुपान्तरण गरेका छन् । यसकाकालागि अनुदित पुस्तकको परिचय दिँदै अनुवादकलाई चिनाउने प्रयास भएको छ । त्यसैगरि अनुवादलाई विशेष स्थान दिँदै आएका सयपत्री, जर्नल अव नेपालीज आर्ट, लिटरेचर एन्ड कल्चर, साथी जस्ता पत्रिकाहरुमा अनुवाद प्रकाशीत गरेका व्यक्तिहरु नछुटुन् भन्नका लागि यि पत्रिकाहरुको अलग्गै प्रविष्टि दिइएको छ ।
नेपालमा धेरै व्यक्तिहरु फुटकर रचनाहरुको अनुवादमा सक्रिय रहेका छन् । यस्ता फूटकर अनुवादहरु गरिमा, मधुपर्क, कलाश्री जस्ता साहित्यीक पत्रिकाहरु र अन्य अनलाइन पत्रिकाहरुमा प्रकाशीत भएको देखिन्छ । पुस्तकाकारको अनुवादलाई मात्र आधार बनाउँदा यस्ता अनुवादकहरुको योगदान छुट्ने देखिन्छ । त्यसैले यस्ता अनुवादकहरु नछुटुन भन्नकालागि फुटकररुपमा अनुवाद गर्दै आएका व्यक्तिहरुको नाम र उनीहरुले अनुवाद गरेका रचनाहरुलाई यस कोशको परिशिष्टमा राख्ने व्यवस्था गरिएको छ ।
कोश निर्माणका चुनौति
अनुवादक परिचय कोशको निर्माण एक अनुसन्धानात्मक कार्य भएकाले आम अनुसन्धानमा आइपर्ने चुनौतिहरु यसमा पनि देखियो ।
· अनुवादकहरुको नाम सुचिको निर्माणः अनुवादकको नामको सूचि तयार पार्नु पहिलो चुनौती थियो । हालसम्म नेपालका भाषाहरुमा कतिजना व्यक्तिहरुले अनुवाद गरेका छन् भन्ने संस्थागत कुनै सुचि उपलब्ध छैन । एकातर्फ १७ औँ, १८ औँ शताब्दी देखि हालसम्मका अनुवादकहरुलाई समेट्नु छ भने अर्कातर्फ ति अनुवादकहरुले कुन भाषामा कुन पुस्तक कहिले अनुवाद गरे भन्ने विस्तृत जानकारी पनि राख्नु छ । त्यसैगरि नेपाल भित्र र बाहिर खासगरि भारतिय भूमीमा रहेर नेपाली साहित्यको अनुवादमा लागेका अनुवादकहरुलाई पनि कोशमा समेट्नु छ । दिककाल दुबै पक्षबाट हेर्दा आरम्भमा हामीहरुले झन्डै अन्यौनको स्थितिमा काम सुरु ग¥यौँ ।
अनुवादकहरुको नाम संकलनकालागि अन्य अनुसन्धानमा जस्तै यसमा पनि द्वितिय र प्राथमिक दुबै स्रोतको प्रयोग भएको छ । प्रज्ञाप्रतिष्ठानबाट प्रकाशीत अनुवाद ग्रन्थसूची र जगदम्भा प्रकाशनबाट प्रकाशोन्मूख रहेको नेपाली साहित्य अनुवादको इतिहास जस्ता पूर्ववर्ती अनुसन्धानलाई द्वितिय स्रोतका रुपमा प्रयोग गरिएको छ भने व्यक्तिगत सम्पर्क, व्यक्तिगत एवम् सार्वजनिक पुस्तकालय र पुस्तक पसलहरुको भ्रमण जस्ता प्राथमिक स्रोतबाट धेरै जसो अनुवादकहरुको नाम संकलन गरिएको छ । यतिहुँदा हुँदै पनि सबै अनुवादकहरु यस कोशमा अटेका छन् भन्न सकिने अवस्था भने छैन । जस्तो, असाम, दार्जलिङ, सिक्किम जस्ता भारतीय भूभागमा छरिएर रहेका केहि अनुवादकहरु मात्र यस कोशमा उत्रिएका छन् । उताका अनुवादकहरुलाई प्रविष्टीमा ल्याउन प्रज्ञाले पहल गर्नु पर्ने देखिन्छ ।
· अनुवादकका बारेमा अल्पजानकारीः जे जति अनुवादकहरुको सुचि तयार भयो अधिकांशको बारेमा सुचना संकलनमा अझ कठिनाइ देखियो । जस्तो, अनुवाद ग्रन्थसूचीमा अनुदित पुस्तक र अनुवादक, मूल पुस्तक र लेखक, प्रकाशन र प्रकाशन मिती मात्र दिईएको छ । यति सिमीत सुचनाका आधारमा अनुवादकलाई चिनाउन सम्भव देखिँदैन । परिचय भित्र कमसेकम नाम, जन्मस्थान र मिति, शिक्षा, पेशागत आवद्ता, अनुदीत पुस्तक (हरु), मूल पुस्तक र लेखक, विधा, मौलिक लेखनको विधा, फुटकर अनुवाद जस्ता क्षेत्रका जानकारी समेर्टिको हुनु पर्दछ ।
अझ अनुदित पुस्तकको आधारमा त अनुवादकका बारेमा लेख्नु असम्भव प्राय नै देखिन्छ । अधिकांश अनुदित पुस्तकहरुमा अनुवादकको नाम बाहेक थप सुचना नै दिइएको छैन । जस्तै लक्ष्मी निबन्ध संग्रहको हिन्दी अनुवादलाई लिऔँ । यस पुस्तकको हिन्दी अनुवादमा लक्ष्मी निबन्धसंग्रह (हिन्दी अनुवाद), अनुवादकः हेमचन्द्र पोखरेल मात्र भनिएको छ । अनुवादक हेमचन्द्रका बारेमा उक्त अनुवादमा कहिँ केहि थप जानकारी छैन । यस्तो अवस्थामा, यस अल्पसुचनाका आधारमा हेमचन्द्रका बारेमा थप अनुसन्धान गर्दै सुचना संकलन गरिएको छ । यसकालागि नेपाली स्सााहित्यकार परिचय र अभिव्यक्ति, ससाहित्यकार–कलाकार परिचय कोश जस्ता प्रकाशनहरुको सहयोग लिइएको छ भने कतिपय अवस्थामा सम्वन्धित अनुवादकका बारेमा संभावित जानकारहरुबाट पनि सुचना लिइएको छ । त्यसैगरि, कतिपय अनुवादकहरुमा सन्दर्भमा भने फोनका साथै इमेल, फेसबुक जस्ता सामाजिक संजालका साहयताले उनीहरुबाटै सिधै सुचना पनि संकलन गरिएको छ ।
· अनुवादकहरुबाट जानकारी अप्राप्त ः कतिपय अनुवादकहरुलाई फोन, इमेल र फेसबुक मेसेन्जरबाट अनुरोध गर्दा पनि जानकारी प्राप्त हुन सकेको छैन । केहिबाट आफ्ना बारेमा जानकारी उपलब्ध गराउने आस्वाशन त पाइयो तर हालसम्म प्राप्त हुन सकेको छ्रैन । यद्यपी सम्पादक मन्डलले बेला बेलामा स्मरण सुचना भने पठाइ रहेको छ । यस्ता अनुवादकहरुको सहयोगको आशामा रहेका छौँ ।
हुनसक्छ कतिपय अनुवादकहरुले यस सस्थागत पहलकको महत्व बुझेनन् र कतिलाई हामी आफैँले महत्व बुझाउन नसकीएको पनि होला । केहिले भने महत्व नदिएको झैँ पनि लागेको छ । प्रतिष्ठानले आयोजना गरेको यस भेला, प्रस्तुती र अन्तरकृयाले परियोजानको महत्व बुझ्न र बुझाउनमा सहयोग होला भन्ने आशा छ ।
अनुदित पुस्तकमा समेटिनु पर्ने आधारभूत पक्षहरु
एउटा आधिकारीक र स्तरिय अनुदित पुस्तकमा अनुवादकका बारेमा के कस्ता जानकारी सम्लग्न हुनुपर्छ भन्ने प्रश्न उठ्न सक्छ । यस सम्वन्धमा इन्टरनेशनल फेडरेशन अव टन्सलेटरको टन्सलेटरर्ज चार्टर र अनुवादविद् गोविन्दराज भट्राइका आधारमा निम्न जानकारी हुनु पर्ने निश्कर्ष निकाल्न सकिन्छ ः
· उक्त कृति अनुवादकालागि छानिनुको कारण, सान्दर्भिकता र आवश्यकता
· मूल कृतिको नाम, लेखकको नाम, प्रकाशक र प्रकाशन मिती
· लेखक परिचय र उसको विचार या लेखकिय
· अनुवादकको परिचय र अनुवादकीय
· सम्पादकको मूल्याङ्कन र प्रकाशकको टिप्पणी
· प्रतिलिपी अधिकार, अनुवादकालागि स्वीकृति, रोयल्टी जस्ता कानुनी कुराहरुको स्पष्ट उल्लेख
यदि हाम्रा अनुदित पुस्तकहरुमा माथि उल्लेखित जानकारी समावेश हुन्थे भने अनुवादकको परिचय लेख्ने कार्य निकै सहज र द्रुत गतिमा हुन्थ्यो होला । वास्तवमा यस्तो जानकारी अनुवादकको पेशागत र सर्जकिय पहिचानका लागि पनि आवश्यक छ ।
छोटो समयमा सुचना सङ्लन, लेखन, परिमार्जन र सम्पाद कार्य पुरा गरि प्रकाशनका निम्ती तयार पार्नु पर्ने भएकाले यस कोशमा सुधार्नु पर्ने अनेकौ पक्षहरु रहेका हुनसक्छन् । त्यसैगरि नेपाली अनुवादका क्षेत्रमा यस प्रकारको कोश पहिलो भएकाले यसमा अनेकौँ रिक्तताहरु रहेका हुनसक्छन्, र छन् पनि। आउँदा परियोजनाका अनुसन्धानकर्ताहरुबाट यस्तो रिक्तता भर्ने काम हुनेछ भन्नेमा आशावादी छौँ ।
अन्त्यमा नेपाली अनुवादका क्षेत्रमा हालसम्म भएका अनुसन्धानमूलक कार्यहरुलाइै हेर्दा नेपाल प्रज्ञाप्रतिष्ठानले अग्रगामी, नेतृत्वदायी र अविभावकिय भूमिका खेल्दै आएको छ । यसले निरन्तरता पाउँदै गएमा नेपाली अनुवादको अभिलेखिकरण र सैद्वान्तीकरणको क्षेत्र विस्तार हुदै जानेछ ।
सन्दर्भ सामाग्री
अधिकारी, बलराम (२०७१) अनुवाद सिद्धान्त र प्रयोग. काठमाडौं ः त्रिपिटक प्रकाशन
अधिकारी, बलराम (२०७०) अनुवाद सिद्धान्त. नेपाल प्रज्ञाप्रतिष्ठानमा पेश अप्रकाशीत अनुसन्धान प्रतिवेदन ।
भट्टराई, जयदेव (सम्पा) (२०४०? ). साहित्यकार परिचय र अभिव्यक्ति. कमलादीः राजकीय प्रज्ञा–प्रतिष्ठान
प्रभात, विष्णु (सम्पा) (२०७०). साहित्यकार–कलाकार परिचय कोश. कमलादीः प्रज्ञा–प्रतिष्ठान
कर्माचार्य, माधलवलाल र रन्जितकार, इश्वरमान () अनुवाद ग्रन्थसूची. कमलादीः राजकीय प्रज्ञा–प्रतिष्ठान
Bhattarai, G. R. (Forthcoming). Translation Tradition in Nepal: Now an Expedition Through the Wilderness (trans Nabaraj Neupane). Nepal Academy.
Chene, M.D. Nepali and Nepal Bhasa literature in English translation: A reference bibliography in Studies in Nepali History and Society. V. 4 1999.pp,383-430
Bhattarai, G.R. (1997). In other words: Sense versus words as unit of translation (with special reference to Nepali-English poetic texts). Unpublished Ph. D thesis. University of Hyderabad. Hyderabad.
Weissbort, D., Esysteinsson, and Astradur (Eds) (2006). Translation theory and practice– A historical reader. OUP: Oxford.
Baker, M. & Saldanha, G. (Eds.) (2009). Routledge encyclopedia of translation studies . Routledge: New York.
[1] of] sfo{kq g]kfn k|1fk|lti7fg cGt/utsf] ljZj;flxTo tyf cg'jfb ljefun] xfn lgdf0f{ ul//x]sf] cg'jfbs kl/ro sf]z;Fu ;DjlGwt 5 . cf}krfl/s ?kdf emG8} 5 dlxgf cl3af6 cf/De ePsf] o; sf]z xfn ;Dkfbgsf] r/0fdf k'u]sf] 5 .
[2]Translation theory and practice– A historical reader
[3] Routledge encyclopedia of translation studies
Comments
Post a Comment